जनकपुरधाम । धनुषाधाम नगरपालिकामा पछिल्लो समय भ्रष्टाचारले प्रश्रय पाइरहेको भन्दै सुशासनको माग गर्दै एमाले धनुषाधाम नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका शीर्षकमा व्यापक भ्रष्टाचार भइरहेको भन्दै सुशासन कायम गरी काम गर्न गराउन एमाले धनुषाधाम नगर कमिटीले नगरपालिकामा २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा एमालेका नगरकमिटीका अध्यक्ष एवं धनुषाधाम नगरपालिकाका नगरप्रमुखका प्रत्यासी योगकुमार यादवको नेतृत्वमा गएका एमालेका नेता तथा कार्यकर्ताहरूले धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजित दासलाई ध्यानाकर्षण पत्र बुझाउँदै धनुष जनता उच्च माध्यमिक विद्यालय तथा काशीपुरको प्राथमिक विद्यालयमा शिक्षकको समस्या तत्काल समाधान नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
एमाले नगर कमिटीका अध्यक्ष यादवले धनुषाधाममा शिक्षा तथा स्वास्थ्यमा व्यापक विकृति रहेको बताए । उनले १ हजार ४०० बढी विद्यार्थी अध्ययनरत धनुषा जनता उच्च माध्यमिक विद्यालयमा शिक्षक भर्नाका लागि शिक्षा समन्वय इकाईले स्वीकृति दिइसके पनि शिक्षक भर्नामा नगरपालिका बाधक भइरहेको आरोप लगाए । नगरभित्र रहेका अन्य विद्यालयहरूमा समेत शिक्षक अभाव रहेकाले करारमा शिक्षक भर्ना गरेर यो समस्या समाधन गर्न सकिए पनि नगरपालिकाले त्यतातर्फ ध्यान नपुर्याएको उनले गुनासो गरे ।
नगरपालिकामा दरबन्दीअनुसार कर्मचारीहरूले काम गर्नुपर्ने आफूहरूको माग रहेको यादवले बताए । त्यस्तै स्वास्थ्यचौकीहरू अस्तव्यस्त छ, बिरामीले त्यहाँ निःशुल्क पाउने कुनै पनि औषधि पाउन नसकेको आरोप यादवको छ ।
यता ध्यानाकर्षण पत्र बुझ्दै अधिकृत दासले आफू यी समस्याहरूको विषयमा छलफल गरेर सोको निदानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगर विकासका लागि आफूले चाल्न सक्ने कदम चाल्ने उनले बताए ।
प्रतिक्रिया