जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताबद्ध रहेको बताएका छन् । प्रेस मञ्च नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशन पूर्ण रूपमा सफल हुनुका साथै पार्टी एकताबद्ध रहेको सन्देश दिएको बताएका हुन् ।
उनले महाधिवेशन प्रतिनिधिहरूले आफूमाथि देखाएको सद्भाव तथा विश्वासलाई पूरा गर्न इमानदारीपूर्वक काम गर्ने बताए । उनले केन्द्रीय कार्यसमितिको चयन सबै क्षेत्र, भूगोल र जातीय सन्तुलन मिलाएर चाँडै बिस्तार गर्ने बताए ।
जसपाका अध्यक्ष यादवले पार्टीबाट केही चोइटिएर गए पनि त्यसको कुनै असर पार्टी संगठनमा नपरेको र एकताको राष्ट्रिय महाधिवेशनमा भएको सहभागिताले पार्टी अझै बढी संगठित र सुदृढ भएको दाबी पनि गरे ।
उनले महाधिवेशनमा ७७ जिल्लाबाट पार्टीका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनुका साथै विभिन्न भूगोलमा रहेको सांस्कृतिक नृत्यहरू प्रदर्शन महाधिवेशनको उद्घाटन सत्रमा भएकाले पार्टी राष्ट्रिय चरित्रको पार्टी भएको पुष्टि गरेको बताए ।
पत्रकार सम्मेलन प्रेस मञ्च नेपालका कार्यवाहक केन्द्रीय अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका नेताहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेका थिए ।
प्रतिक्रिया