काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा फेरि एक पटक उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्वमा रहँदै आएका यादव जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । त्यसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । यादवको नेतृत्वमा १८ वर्षअघि मधेसी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक–पटक पार्टीको नाम परिवर्तन, फुट्ने र जोडिने भए पनि अध्यक्षमा यादव नै रहँदै आएका छन् ।
२०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नाम गरेको गैरसरकारी संस्थामार्फत् समाजसेवाको नाममा राजनीतिमा प्रवेश गरेका उपेन्द्र यादव २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै सडकमा र २०६४ सालको निर्वाचनमा ‘मधेसी जनअधिकार फोरम नेपाल’ नामक दल दर्ता गरेर चुनावमा होमिएका थिए ।
त्यसपछि दर्जन पटक पार्टीभित्र फुट र जुटको शृंखला दोहोरियो । तर, पार्टीको नेतृत्वमा भने यादव रही नै रहे । २०५४ सालमै आफ्नो ‘एनजिओ’मार्फत् गैरसरकारी संघ (गैसस)को अध्यक्ष बनेका यादवलाई अहिलेसम्म नेतृत्वमा रहने रहरले छाडेको छैन ।
विगत १८ वर्षदेखि नेतृत्व छाड्न नचाहेका यादव भने माओवादीलाई अवसरवादी भन्ने गर्छन् । गत सोमबार सुरु भएको जसपाको महाधिवेशनमा उनले प्रस्तुत गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादीलाई अवसरवादीको रूपमा चित्रण गरेका थिए । उनले भनेका थिए, ‘यो पार्टीले आफूलाई सर्वहारा वर्गको पार्टी भने पनि वास्तवमा कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी हो । चिन्तन र व्यवहारमा माक्र्सवादी–लेनिनवादी माओवादी नभई ढुलमुले, अवसरवादी चरित्र नै हाबी छ ।’
उपेन्द्रले २०७२ सालमा अशोक राईको नेतृत्वमा रहेको संघीय समाजवादी पार्टीलाई ‘मधेसी जनअधिकार फोरम नेपाल’मा मिसाएर ‘संघीय समाजवादी फोरम’ बनाए । त्यस समय पनि अध्यक्षमा उनी नै बसे । पछि २०७६ सालमा डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको ‘नयाँ शक्ति पार्टी’ र ‘संघीय समाजवादी फोरम’सँग एकीकरण गरेर आफ्नो पार्टीको नाम समाजवादी पार्टी राखे । त्यसबेला पनि नेतृत्व आफ्नै हातमा राखे ।
२०७७ सालमा महन्थ ठाकुर नेतृत्वको राजपा र समाजवादी पार्टीबीच एकीकरण भयो र समाजवादी पार्टी जनता समाजवादी पार्टी (जसपा)मा परिणत भयो । तर, यादवलाई नेतृत्वबाहिर राख्न कसैले सकेनन् । यादवको नेतृत्व छाड्न नचाहने र अरूलाई नेतृत्वमा राख्न नमान्ने व्यवहारका कारण बेलाबखतमा पार्टीभित्र असन्तुष्टि चुलिने गरेको छ । अशोक राईलगायतले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जसपालाई नै फुटाए ।
यादवसँग जोडिएका र फुटेर बाहिर आएका नेताहरू यादवलाई अवसरवादी भन्न पनि हिच्किचाउँदैनन् । विगतमा जसपासँग जोडिएका कतिपय नेता पार्टीमा एकल निर्णय गर्ने, अरूलाई बेवास्ता गर्ने र सधैँ सत्ताका लागि मात्र लागिपर्ने नेताका रूपमा यादवलाई चित्रण गर्छन् ।
प्रतिक्रिया