वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा–२ का प्रतिनिधिसभा सांसद अजय चौरसियाले मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै जेठ २३ गते बुधबार आएको हावाहुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
संसद्मा बोल्दै उनले ‘टोर्नेडो जस्तै १५० किलोमिटरको गतिमा आएको हावाहुरी पानी असिनाले सयौँ घरको छाना उडाउनुको साथै किसानले लगाएको बालिनालीमा समेत क्षति पुगेको छ । बिजुलीका अधिकांश पोल ढलेर धेरै ठाउँमा अहिले पनि विद्युत् आपूर्तिको समस्या छ । देशमा ३ तहको सरकार भए पनि अहिलेसम्म पीडितका लागि कसैले कुनै राहत सहयोग गरेन ।’
उनले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले छिटोभन्दा छिटो पीडितलाई राहत सामग्री उपलब्ध गराउन र क्षति भएको धनमालका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
त्यस्तै अहिले मधेसमा देखिएको खानेपानीको समस्या अधिक बढे पनि कुनै पनि सरकारले चासो नलिएको उनले बताए । जनताका समस्याप्रति तीनै तहको सरकारले कानमा तेल हालेर बसेको उनले आरोप लगाए ।
प्रतिक्रिया