धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सांसद जितेन्द्र सोनलले मधेस सरकारले विश्वासको मत नलिएर पनि नीति तथा कार्यक्रम ल्याउन सक्ने बताएका छन् । सोनलले नीतिगत रूपमा महत्वकांक्षी दीर्घकालीन योजनाहरूसमेत नीति तथा कार्यक्रममा हुने भएकाले प्रदेशसभाबाट अनुमोदित सरकारले मात्र नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्ने दावी गरेका छन् ।
‘नीति तथा कार्यक्रममा वार्षिक, बहुवार्षिक र दीर्घकालीन सबै प्रकृतिको महत्वकांक्षी र गौरवका आयोजना तथा नीतिगत कुराहरू पनि हुन्छ’, उनले भने, ‘भोलि गएर सरकार विश्वासको मत पाउन सकेन भने त्यसपछिको परिस्थितिको जिम्मा कसले लिन्छ ?’
सोनलले प्रतिनिधिसभामा कांग्रेसको त्यत्रो लामो अवरोध र विरोधलाई समाधान गरी विश्वासको मत लिएर मात्र संघीय नीति तथा कार्यक्रम र बजेट आएको, गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम र बजेटकै लागि चुनौतीपूर्ण परस्थितिमा विश्वासको मत लिने कार्य भएको स्मरण गराउँदै मधेस सरकारले जबरजस्ती आफूखुसी गर्न नमिल्ने बताए ।
‘नीतिगत रूपमा अहिले प्रदेशसभाले यो सरकारलाई चिन्दैन अनि यो सरकारले नीति तथा कार्यक्रम कसरी ल्याउँछु भन्न सकेको छ ?’ विश्वासको मत लिए मात्र विश्वासिलो नीति तथा कार्यक्रम र बजेट हुनेछ नभए अमान्य ।
‘सभामुखलाई आग्रह गरेका छौँ वहाँले पनि कुरा ठिकै हो भन्नुभएको छ । तर सक्ताधारीहरूले नमानिरहेको खबर छ’, उनले थपे, ‘नीति तथा कार्यक्रममा प्रदेश प्रमुखको उपस्थिति हुने भएकाले सहमति खोज्न आग्रह गर्छौं ।’ यदि यस्तो गलत र कमजोर परम्परा जबरजस्ती लाद्न खोज्ने काम भयो भने उत्पन्न परिस्थितिको जिम्मेवारी सभामुख र मुख्यमन्त्रीले लिनुपर्ने उनको चेतावनी थियो ।
प्रतिक्रिया