सबै प्रकारका शोषण र उत्पीडन अन्त्य नभए देशको विकास हुँदैन : यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा वर्ण अनुसारका शोषण र उत्पीडन अन्त्य नभएसम्म देशको विकास गर्न नसकिने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै उनले १० प्रतिशत मुठ्ठीभर परिवारका कारण देश दरिद्रको दरिद्र नै रहेको आरोप लगाए ।

भारतजस्तै नेपालमा पनि वर्ग मात्र होइन, वर्णअनुसार पनि शोषण र उत्पीडन रहेको भन्दै उनले भने, ‘दुईतिहाइभन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वरभूमिसहितका अनेकन विकासका आधारहरू हुँदाहँुदै विश्वमै दरिद्र देशको सूचीमा नेपाल पर्नु त्यसैको एक प्रष्ट प्रमाण हो’, उनले थपे ।

नेतृत्व सुध्रिए नेपालबाट कोही पनि बाहिर जानु नपर्ने, किसान र मजदुरसँग भइरहेको ज्यादति र अन्याय अन्त्य भए देश र जनता पुनः आत्मनिर्भर बन्न सक्ने उनको तर्क थियो । आफूहरूको भूमिका अब विपक्षीको भएको भन्दै सडक र सदनदेखि जनताको हक अधिकारका लागि आफू यसरी नै अग्रसर रहने उनले संकल्प गरेका छन् ।

लुटतन्त्र बन्द अनि अवसर र अधिकारमा सबै तप्कालाई समावेश तथा कृषि र उद्योगको विकास नभएसम्म देश दरिद्र नै रहिरहने जसपा नेपालको बुझाइ रहेको उनले बताए । राजतन्त्रको समाप्ती र लोकतन्त्रको स्थापना भएर केही समावेशिताजस्तो देखिए पनि अझै पनि नीतिगत विभेदहरू जारी रहेको उनको टिप्पणी थियो ।

उनले भारत, मलेसिया, स्पेनसहितका देशबाट आएका समाजवादी नेता तथा चिन्तकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरे । भारत र युरोपियन देशमा समेत समाजवादको आवश्यकता दर्शाउँदै यादवले बुधबार बिहान ७ बजेदेखि हुने बन्द सत्रमा आफूले पेस गर्न लागेको राजनीतिक दस्तावेज र नीतिमा हुने छलफलमा भाग लिन प्रतिनीधिलाई आग्रह गरेका छन् ।

समाजवादी शक्तिहरू एकठाउँमा उभिनुपर्ने नेपालको अपिल

नेकपा (एकीकृत) समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिलाई एकठाउँमा उभिन अपिल गरेका छन् । जसपा नेपाल पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले समाजवादी शक्तिलाई एकठाउँमा उभिन अपिल गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधलाई हटाउन समाजवादी शक्तिलाई एकठाउँमा उभिन आवश्यक रहेको बताए । ‘उपेन्द्रजी र हामी केही दिन अगाडिसम्म केन्द्र र प्रदेश सरकारमासँगै थियौँ’, उनले भने, ‘समाजवादी मोर्चामा पनि सँगै काम गर्यौँ, विचार र मन मिलेको छ भने एक साथ मिलेर अगाडि बढौँ, समाजवादको ध्येय पूरा गरौँ ।’
उनले जसपा नेपाल पछिल्लो समय चुनौतीको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधालाई पार गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे । ‘जसरी उपेन्द्रजीले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेस आन्दोलनको अगुवाई गर्नुभयो त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरूसमेत विचलित हुनु हुँदैन’, उनले भने ।

आफ्नो स्वार्थका लागि कसैको पार्टी फोड्नु गलत राजनीति संस्कारः गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा भएर दलहरूले एकअर्काको अस्तित्व स्वीकार गर्नुपर्नेमा आफ्नो स्वार्थका लागि अर्काको पार्टी फोड्नु गलत संस्कार भएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति गुरुङले मधेसको हकअधिकारका लागि जसपा नेपालले देखाएको अग्रसरता र कुशल नेतृत्वलाई सार्थक गर्न महाधिवेशनबाट सो अनुकूलको नेतृत्व ल्याउनुपर्ने बताए ।
मधेस, पहाड र हिमालका जनताबीच सद्भाव बढाउने किसिमले जनता समाजवादी पार्टी अगाडि बढिरहेको देखेर कांग्रेसलाई खुसी लागेको उनको कथन थियो । जसपासँग चुनौतीका चाङ रहेको भन्दै चुनौतीलाई सामना गर्दै अगाडि बढन शुभकामना दिँदै उनले मधेसको हकहितका लागि कांग्रेसको साथ रहने बताए ।

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन

सोमबारबाट जनकपुरधाममा जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सम्मका दलप्रतिको संस्थागत धारणा समावेश छ ।

जसपा नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई ‘पहिचानविरोधी’ भनेको छ । ‘यो पार्टी उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ’, प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसको शासनकालमा ठूला–ठूला काण्डहरू भएको तर, विश्वसनीय छानबिन कहिल्यै नभएको प्रतिवेदनमा औँल्याइएको छ । लाउडा, धमिजा, सुडान लगायतका काण्डको स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, ‘सुशासनको सवालमा भए÷गरेका यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन ।’
यस्तै प्रतिवेदनमा प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) लाई ‘पतनको दिशातिर गइरहेको’ पार्टीका रूपमा चित्रण गरिएको छ । एमालेसहितको वर्तमान सरकारका काम÷कारबाहीले पनि त्यही संकेत गर्ने जसपा नेपालको ठहर छ ।

‘दार्शनिक तथा वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो रहिरहन सक्दैन’, प्रतिवदेनमा भनिएको छ । प्रतिवेदनमा नेपालका कम्युनिस्ट पार्टीहरू केही वर्षभित्र उठ्नै नसक्नेगरी ढल्ने टिप्पणीसमेत गरिएको छ । यस्तै जसपा नेपालले नेकपा (माओवादी केन्द्र) लाई ‘अवसरवादी’ भएको आरोप लगाएको छ । यसले सर्वहाराको पार्टी भने पनि बढी अवसरवादमा नै विश्वास गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘चिन्तन र व्यवहारमा माकर््सवादी–लेनिनवादी माओवादीमा वास्तविकतामा त्यस्तो नभई ढुलमुले तथा अवसरवादी चरित्र नै हाबी छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसका नेता÷कार्यकर्ता ठुला–ठुला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा मुछिएका छन् ।’ प्रतिवदेनमा माओवादी केन्द्रले आफूलाई प्रगतिशील देखाए पनि सारमा एमालेभन्दा फरक देखाउन नसकेको उल्लेख गरिएको छ ।

यस्तै जसपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘पुरातन सम्वद्र्धनवादी’ दल भनेको छ । प्रतिवेदनमा राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको टिप्पणी गरिएको छ । ‘महेन्द्रीय राष्ट्रवादकै पैरवी गर्न राप्रपा धारले बेला–बेलामा कांग्रेस–कम्युनिस्टको असक्षमताको धमिला पानीमा माछा मार्ने प्रयत्न गर्दछ र राजतन्त्र फर्काउने हल्ला पनि गर्छ’, प्रतिवदेनमा भनिएको छ ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई देश र जनताको हितमा निर्णय गर्न नसक्ने पार्टीको रूपमा व्याख्या गरेको छ । ‘यो पार्टीसँग हाम्रा केही एजेन्डाहरू मिल्छ । तर, जनता र देशको पक्षमा निर्णय लिन सक्दैन, अर्काको मुख ताक्छ । तर, यो पार्टीसँग सहकार्य गर्न सकिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

यस्तै प्रतिवेदनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीहरू शास्त्रीय साम्यवादको धङधङीबाट बाहिर निस्कन नसकेको टिप्पणी गरिएको छ । यसैगरी प्रतिवेदनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतका नयाँ दलहरू भने आफैँमा प्रष्ट भइनसकेको दलका रूपमा चित्रण गरिएका छन् ।

केही नयाँ गरौँ भनेर आएको हुनसक्ने अनुमान गर्दै प्रतिवदेनमा भनिएको छ, ‘यी दलका विचार के हुन्छ ? के–कस्ता एजेन्डा बोक्ने हुन्, त्यो प्रष्ट छैन । केही नयाँ गरौँ भन्ने हुटहुटीका कारण आएका हुनसक्छन् । यिनीहरूलाई धीरताका साथ पर्खने र बुझ्ने गर्नुपर्छ ।’

अध्यक्ष यादवले प्रतिवेदनमा डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई भने ‘बाइपास’ गरेका छन् । संसद्भित्र नभएका दलहरूप्रतिसमेत धारणा बनाउन भ्याएका उनले जनमतबारे भने केही भनेका छैनन् ।

पछिल्लो संसदीय निर्वाचनमा अध्यक्ष यादवलाई जनमतका अध्यक्ष राउतले सप्तरी २ मा झन्डै दोब्बर मतान्तरले पराजित गरेका थिए । पछि २०८० वैशाख १० को बारा २ को उपनिर्वाचनमा समेत यादवलाई रोक्न चाहन्थे राउत तर, सकेनन् । पहिलोपटक मधेसमा गतिलो उपस्थिति जनाएको राउतको जनमतकै नेतृत्वमा मधेस प्रदेश सरकार गठन भएको छ । जहाँ ७८ महिना पूरापुरी जसपा नेपालकै सरकार थियो । अहिले यादव–राउतबीच हार्दिक सम्बन्ध छैन ।

प्रतिक्रिया