रौतहट । रौतहटमा एक जना पुरुषको शव फेला परेको छ । मौलापुर नगरपालिका– ५ मा मंगलबार अपरान्ह एक व्यक्तिको शव फेला परेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
अन्दाजी ४० वर्षका जस्तो देखिने पुरुषको शव बजार सेडमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अत्यधिक गर्मीका कारण ती व्यक्तिको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । अत्यधिक गर्मीले रौतहटसहित मधेस प्रदेशको जनजीवन अस्तव्यस्त भएको छ । रौतहटमा दिउँसो तापक्रम ४० डिग्रीसम्म पुगेर सर्वसाधारणले अत्यधिक गर्मी बेहोरेका छन् ।
केही दिनअघि अत्यधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका– ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको थियो । साइकल चलाएर मौलापुर हुँदै जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए । यो सँगै गर्मीका कारण मृत्यु हुने संख्या दुई पुगेको छ ।
प्रतिक्रिया