काठमाडौँ । गायक राजनराज शिवाकोटी र गायिका सदीक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ ।
आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न खप्पिस राजनराजले ‘खुर्सानीलाई बियाँ’मा पनि त्यही कार्यलाई निरन्तरता दिएका छन् । प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । डान्सिङ नम्बरको गीतमा कलाकारहरू निकै खुलेका छन् ।
गीतको अडियो र भिडियो दुवै सशक्त छ । भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ ।
प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजंग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायांकन छ । गीतको भिडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।
गायक तथा संगीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुंगो’, ‘चरीले काफल टिप्यो’ लगायतका गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन् ।
त्यस्तै सदीक्षाका गीत ‘माया रैछ र त भर रैछ नि’, ‘राजा रानी’, ‘चोरी चोरी’, ‘फर्की फर्की’ जस्ता हिट गीतमा पर्छन् । सदीक्षा ‘नेपाल आइडल सिजन २’ बाट उदाएकी गायिका हुन् । ‘नेपाल आइडल सिजन २’ बाट राम्री गायिकाको ट्याग पाएकी गायिका सदीक्षा नेपाली सांगीतिक क्षेत्रमा ठुलो सम्भावना बोकेकी भर्सटाइल गायिका हुन् । जसको गायन क्षमता अग्रज संगीतकर्मीको नजरमा पर्न सफल छ । जसकारण थोरै गीतहरू गाएकी उनका राम्रा संगीतप्रेमी फ्यानहरू रहेका छन् ।
प्रतिक्रिया