यस वर्षको मनसुन सोमबारदेखि नेपाल भित्रिएको छ । प्रचण्ड गर्मीको सामना गरिरहेका नेपालीका निम्ति यो अत्यन्त खुसीको समाचार हो । किसानका लागि अझ खुसीको समाचार हो । किनकी मनसुनले पानी पार्न थालेपछि गर्मी घट्दै जान्छ, र धान रोपाइँका लागि पानीको अवश्यकता पूरा हुन्छ । तर, मनसुन प्रवेश गर्दैमा नियमित वर्षा सुरु भइहाल्ने हुने होइन । सोमबार पूर्वी पहाडका ४ जिल्लामा प्रवेश गरेको मनसुन नेपालभरी फैलनका लागि ५ दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनले नियमित वर्षा गराउनका लागि पहिलो कुरा त पश्चिमी वायुभन्दा मनसुन बढी शक्तिशाली हुनुपर्छ, दोस्रो कुरा तिब्बतको पठार क्षेत्रमा तापक्रम वृद्धि भई वायुको चाप कम हुनुपर्छ । पश्चिमी वायुभन्दा मनसुनी वायु कहिलेदेखि बलियो हुन थाल्छ ? तिब्बतको पठारमा वायुको चाप कहिलेदेखि कम हुन थाल्छ ? भन्ने कुराको एकिन मिति मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरिसकेको छैन । विगतलाई हेर्दा मनसुन शक्तिशाली हुन १० देखि १५ दिनको समय लाग्ने गरेको छ । गत वर्ष ३१ जेठदेखि मनसुन नेपाल प्रवेश गरेकोमा यस वर्ष ४ दिनअघि अर्थात २८ जेठदेखि प्रवेश गरेको छ । यस हिसाबले असारको पहिलो साता सकिनासाथ नियमित पानी पर्ने संभावना देखिन्छ ।
मनसुनबारे नेपालमा अत्यधिक चासो हुनुका धेरै कारणहरू छन् । किनकी नेपालका लागि मनसुन प्राकृतिक वरदान हो । पहिलो कुरा त नेपालको अर्थतन्त्रमा मनसुनी वर्षाको प्रत्यक्ष योगदान २५ देखि ३० प्रतिशतको हाराहारीमा रहेको छ । अप्रत्यक्ष योगदानको कुरा गर्ने हो भने कुनै हिसाबकिताब नै गर्न सकिन्न । किनकी मनसुनबिनाको नेपाल कल्पना पनि गर्न सकिन्न । मनसुन नभित्रिँदो हो त नेपाल मरुभूमि भइसक्ने थियो । दोस्रो कुरा मनसुन नेपालका लागि वरदान मात्रै होइन, कहिलेकाहीँ अभिशाप पनि हुने गरेको छ । कहिलेकाहीँ अत्यधिक वर्षा हुँदा बाढी, पहिरो र डुबानले ठूलो विपत्ति निम्त्याउने गरेको छ । विपत्तिबाट बच्नका लागि पूर्वसतर्कता अपनाउन पनि मनसुनबारे धेरैको चासो हुने गरेको देखिन्छ । यति हुँदाहुँदै पनि हरेक वर्ष मनसुनको समयमा धनजनको ठूलो क्षति हुने गरेको छ ।
अहिलेसम्म नेपालको अर्थतन्त्र मनसुनमा निर्भर छ । मनसुनी वर्षा सन्तुलित र लामो समयसम्म भइदियो भने धान कोदोलगायत अन्नबाली उत्पादन राम्रो हुन्छ । पछिल्लो समयमा जलविद्युत् पनि नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको छ । मनसुनी वर्षा सन्तुलित र लामो समयसम्म भइदियो भने जलविद्युत् उत्पादन पनि धेरै हुन्छ । पानी पर्दा गर्मी कम हुने भएकोले विद्युत्को खपत कम हुन्छ । स्वदेशमा विद्युत्को खपत घट्दा निर्यात गर्ने विद्युत्को मात्रा बढ्छ । तर, हरेक वर्षको मनसुनमा सरदर करिव ४ लाख घरपरिवार दुस्प्रभावित हुने गरेको डरलाग्दो तथ्यांक छ । यो वर्ष अझ बढी दुस्प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गृहमन्त्रालयले समेत सरोकारवाला निकायसँग छलफल गरी राहत र उद्धार टोलीलाई चुस्त बनाउन निर्देशन दिएको छ । संकट आउनुभन्दा अघि नै उद्धार तथा राहत टोलीलाई तैनाथ राख्ने गृहकार्य सकरात्मक हो । तर, सकेसम्म समस्या नआओस् भन्नेतर्फ सचेत हुनु जरुरी छ ।
केही अपवादबाहेक बाढी, पहिरो तथा डुबानको समस्या बढ्नुमा मानवीय क्रियाकलाप जिम्मेवार छ । भिरालो पहाडलाई खोतलेर भौतिक संरचना निर्माण गरिएका कारण सामान्य वर्षा हुँदा पनि पहिरो र बाढीको समस्या थपिएको हो । खोला, खोल्सा तथा नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू बाढीले बगाइदिनु स्वभाविकै हो । प्रकृतिले अतिक्रमणकारीहरूलाई सुनुवाईको मौका दिँदैन, सिधै दण्डित गरिदिन्छ भन्ने हेक्का कतिपय सर्वसाधारण जनताले चेतनाको अभावका कारण राख्न सकेनन्, तर विज्ञका रुपमा राज्यको नीति निर्माण तहमा राखिएकाहरूले समेत यो हेक्का राख्न नसक्नु ठूलो विडम्वना हो ।
प्रतिक्रिया