बालबालिकाकाे चुनावले जगाएको आशा

हेटौँडा । संघीय तथा प्रदेशसभाको गएको चुनावमा मकवानपुरमा मात्रै ३२ हजारभन्दा बढी मत बदर भयो । यो खबर सुनाइरहँदा बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका तत्कालीन कार्यालय प्रमुख लुम्बनाथ पोखरेल निराश देखिन्थे ।

निर्वाचन आयोगले मतदाता शिक्षामा गरेको ठुलो लगानीले प्रतिफल पाएको थिएन । कुल ३ लाख ७३३ मतदाता रहेको मकवानपुरमा जम्मा १ लाख ७८ हजार २८२ जनाले मात्रै मतदान गरेका थिए । त्यसमा संघीय र प्रदेशसभा दुवैतर्फ गरेर ३२ हजार ४५७ जनाको भोट गणनामै पर्न सकेका थिएनन् ।

निर्वाचन आयोगले मतदातालाई ठ्याक्कै चुनावकै समयमा मात्र दिएको मतदाता शिक्षा अप्रभावकारी भइरहँदा पछिल्ला वर्षहरूमा मकवानपुरमा विद्यालय तहबाटै मतदाता शिक्षाका कार्यक्रममा व्यापकता आएको छ । यसले विद्यार्थी र विद्यालयहरू मात्र होइन निर्वाचन आयोगलाईसमेत आशावादी बनाएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि वैशाख यता हेटौँडा उपमहानगरपालिकाभित्र मात्रै १३ वटा विद्यालयमा विद्यार्थी नेता चयन गर्नका लागि मतदान भइसकेको छ । यस्ता मतदानले निर्वाचन आयोगले गर्ने स्थानीय, प्रदेश तथा संघीय चुनावकै झल्को दिन्छन् । विद्यार्थीहरूको मनोनयन दर्तादेखि दाबीविरोध, उम्मेद्वारी फिर्ता, चुनावी प्रचारप्रसार, निर्वाचनको तयारी लगायतमा विद्यालयहरूले हप्तौँसम्म खर्चिन्छन् । विशेषगरी शैक्षिक सत्रको सुरुमै विद्यार्थी नेता चयनका लागि यस्ता चुनाव गरिने भएकोले पढाइमा त्यसैले खासै अवरोध नगर्ने शिक्षकहरू बताउँछन् ।

‘निर्वाचन प्रक्रियामा भाग लिँदै गर्दा बालबालिकाहरूमा नेतृत्व सीपको विकास भइरहेको छ’, आइतबार मतदान भइरहेको हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत अर्यालले भने । ‘यसले बालबालिकाहरूको एक वर्षको नेता मात्र छानिरहेको छैन । उनीहरूले अहिलेदेखि नै निर्वाचनका विभिन्न चरणहरूका बारेमा अभ्यास गरेर जान्न पाइरहेका छन् ।’

विद्यालयहरूमा हुने यस्ता निर्वाचन कार्यक्रमका लागि बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले निःशुल्क रूपमा निर्वाचन सामग्रीहरू उपलब्ध गराउने गरेको कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विद्यालयहरूले माग गरेअनुसार निर्वाचनमा प्रयोग हुने मतपेटिका, स्वस्तिक छाप, छेकाबारा र सुरक्षणसिल आवश्यकताअनुसार कार्यालयले उपलब्ध गराउँछ । विगतमा एक–दुईवटा विद्यालयले मात्र यस्ता कार्यक्रम गरेको थाहा पाएका आचार्यले यसपटक धेरै विद्यालयहरूमा यो अभ्यास भएकोमा खुसी व्यक्त गरे ।

मतदाता शिक्षा अभिवृद्धि गर्ने यस्ता कार्यक्रमहरू निर्वाचन कार्यालयकै अगुवाइमा हुनुपर्ने भए पनि बजेट र जनशक्तिका कारण सम्भव नभएको भन्दै आचार्यले भने, ‘विद्यालयहरूले गरेको कार्यक्रममा कार्यालयले सक्ने सहयोग निःशुल्क उपलब्ध गराइरहेका छौँ ।’

मतदानमा सहमागी हुन पाउँदा विद्यार्थीहरू पनि उत्साहित हुने गरेका छन् । हेटौँडाका विभिन्न विद्यालयमा भएका निर्वाचनमा लगभग सबैजसो विद्यार्थीले मतदान गर्ने गरेको प्रधानाध्यापकहरूले बताएका छन् । यसवर्ष पहिलोपटक निर्वाचन कार्यालयबाट सामग्री लिएर निर्वाचन सम्पन्न गरेको बालबोध माध्यमिक विद्यालय हेटौँडा–१७ का प्रधानाध्यापक दीपकलाल श्रेष्ठका अनुसार चुनिएर आएका विद्यार्थी नेताहरूमा यसले उल्लेख्य परिवर्तन पनि ल्याएको छ । श्रेष्ठ भन्छन्, ‘चुनिएका सदनगत नेताहरू साप्ताहिक रूपमा बैठक बस्छन् । विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा योजनाहरू बनाउँछन् र विद्यालयलाई सहयोग गर्छन् ।’

केही वर्षयता नियमित रूपमा निर्वाचनको माध्यमबाट विद्यार्थी नेता छनौट गर्दै आइरहेको हेटौँडा–२ मा रहेको बालजागृति इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक विनोद सुवेदीका अनुसार यस वर्षको निर्वाचनमा ८६ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका थिए । सांसद छान्ने चुनावमा ६० प्रतिशत हाराहारी मात्रै मत खस्ने अवस्थामा विद्यार्थीहरूमा यस किसिमको उत्साह देखिनु खुसीको कुरा हो । सुवेदी भन्छन्, ‘विद्यालयमा असल नेतृत्व चयन गर्न विद्यार्थी आफैँ जागरुक छन् । बालबालिकाका कुराहरूको सुनुवाइका लागि पनि यसरी चुनिएका विद्यार्थी नेता बढी जिम्मेवार बन्छन् ।’

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया