छिमेकी देश भारतमा १८औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । यसअघि लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने ढोका खुलेको छ । अब छिट्टै नै उनले प्रधानमन्त्री नियुक्तिको औपचारिकता पूरा गर्नेछन् । तर, प्रधानमन्त्रीका रूपमा मोदीको तेस्रो कार्यकाल विगतका २ कार्यकाल जस्तै पूरा ५ वर्ष टिक्छ वा टिक्दैन ? भन्ने प्रश्नको उत्तर भने सहज छैन । किनकी विगतमा उनी आफ्नै पार्टीको एकल बहुमतका आधारमा प्रधानमन्त्री बनेका थिए । तर, यसपटक उनको पार्टी भाजपाले बहुमत ल्याउन सकेन । अन्य दलसँगको गठबन्धनमा प्रधानमन्त्री बन्नुपर्ने वाध्यतामा मोदी परे । त्यसैले मोदीको प्रधानमन्त्री पद अन्य पार्टीको नियन्त्रणमा पुगेको छ ।
अन्य पार्टीहरूले साथ दिएसम्म उनी प्रधानमन्त्री रहिरहनेछन् । चुनावमा होमिँदा नै गठबन्धनमा सामेल भएका नितिशकुमार र चन्द्रबाबु नायडुले मोदीलाई साथ दिने निधो भइसकेको समाचार आएको छ । तर, यी दुबै नेताहरूको पृष्ठभूमि गठबन्धन अदलबदलको छ । त्यसैले मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने सुनिश्चित भए पनि पुरै कार्यकाल टिक्ने सुनिश्चित भने छैन । नेपालको जस्तै राजनीतिक अस्थिरता हुने गरी चुनावी परिणाम आएको छ । कम्तिमा अबको ५ वर्ष छिमेकी देश भारत राजनीतिक अस्थिरतामा गुज्रने संभावना चुनावी परिणामले उजागर गरेको छ । भारतमा हुने राजनीतिक अस्थिरताले नेपालमा के कस्तो प्रभाव पार्ला ? भन्ने विश्लेषण हुन थालेको छ । भौगोलिक, सांस्कृतिक, धार्मिक तथा भाषिकलगायत विभिन्न कारणले भारतको बाछिटा नेपालसम्म आउने गरेको छ ।
मोदीले एकमना सरकारको बलियो प्रधानमन्त्रीका रूपमा १० वर्षसम्म भारतमा निर्वाध शासन सत्ता चलाए । मोदीको यो १० वर्षे कार्यकाल नेपालका निम्ति खासै सुखद् देखिएन । मोदीको यही कार्यकालमा नेपालले भारतबाट नाकाबन्दीको सामना गर्नुपर्यो । ब्रिटिसको शासन कालदेखिकै निरन्तर चलेको भारतीय सेनामा नेपालीहरूको सहभागिता मोदीले अघि सारेको अग्निपथ योजनाका कारण टुट्न पुग्यो । लिम्पियाधुरालगायत नेपालको भूभाग समेटेर भारतले नयाँ नक्सा जारी गर्यो । नेपाली भूमि लिपुलेक हुँदै चीनको सीमानासम्म भारतले युद्धस्तरमा सडक निर्माण गर्यो । बंगलादेशको सीमा विवाद छिटो छरितो ढंगबाट सुुल्झाएका मोदीले नेपालसँगको सीमाविवाद किन बल्झाए ? भन्ने प्रश्न उठिरहेको छ । भारतले हवाई रुट नदिँदा नेपालका नवनिर्मित २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । भारतसँग नेपालको ब्यापार पनि मोदीको कार्यकालमा सुखद् रहेन ।
भारतका अहिलेसम्मका प्रधानमन्त्री मध्ये मोदीले धेरैपटक नेपाल भ्रमण गरे । भाषण गरेर नेपाली जनताको मन पनि जिते । तर, भनाइ र व्यवहारमा तालमेल देखिएन । मोदीलाई मन पराउने हिन्दूवादी जमात नेपालमा ठूलै छ । यसका लागि मोदीको पार्टी भाजपा नेपालमा निकै सक्रिय छ । यो सक्रियता नेपालका लागि राम्रो लक्षण होइन । निर्वाचनको यो परिणामले नेपालमा भाजपाको सक्रियता घट्ने अनुमान गरिएको छ । यसलाई सुखद् मान्नुपर्ने हुन्छ । यसैगरी बिहारका मुख्यमन्त्री नितिशकुमारको पार्टी जेडियुले भारतको केन्द्रीय सत्तामा निकै बलियो उपस्थिति जनाउने अवस्था देखिएको छ । नितिशकुमारलगायत जेडियुका प्रायः सबैजसो नेताहरू नेपालसँग परिचित छन् । लामो अवधिपछि नेपाल बुझेका नेताहरूको भारतीय सत्तामा पकड हुँदै छ । भारतको बिहार प्रान्त र नेपालको तराई क्षेत्रका कतिपय समस्या एउटै प्याकेजद्वारा समाधान गर्नुपर्ने प्रकृतिका छन् । कतिपय अवसर पनि समान रूपमा प्राप्त हुने प्रकृतिका छन् । यसलाई नेपालले अवसरको रूपमा लिन सक्नुपर्छ ।
प्रतिक्रिया