मधेसमा राजनीतिक समीक्षा गर्दै लोसपा

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेशको राजनीतिक स्थितिको समीक्षा गरेको छ । मंगलबार जनकपुरमा जुटेका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले मधेस प्रदेशको राजनीतिक समीक्षा गरेको बताइएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भूमिका विषयमा उक्त बैठकमा चर्चा भएको स्रोतले बतायो ।

पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारीको उपस्थितिमा भएको बैठकमा प्रदेश सभाका ८ जना सदस्यसँग राजनीतिक विषयमा समीक्षा भएको थियो । बैठकमा धेरै छलफल भए पनि कुनै खास निर्णय नभएका एक नेताले बताए ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत लिने भएपछि यस विषयमा समेत समीक्षा भएको र पार्टीले उचित समयमा उचित निर्णय लिने तयारीमा रहेको बताइएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट २ दल बाहिरिएपछि नयाँ बन्ने सरकारको अंकगणितका लागि लोसपा र नेकपा एकीकृत समाजवादी महत्वपूर्ण मानिएका छन् ।

प्रतिक्रिया