जनकपुर । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार मध्याह्न एकीकृत समाजवादीका २ मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउँदै मधेस सरकारबाट बाहिरिएका हुन् । पार्टी केन्द्रको निर्देशनअनुसार एकीकृत समाजवादी मधेस सरकारबाट मंगलबार नै बाहिरिएको हो । एकीकृत समाजवादीकी मन्त्री बेची लुंगेलीले केन्द्रबाट नयाँ समीकरणअनुसार सरकार बनाउने निर्देशन आएअनुसार आफूहरूले राजीनामा दिएको बताइन् । पार्टीको निर्देशन अनुसार पार्टीको संसदीय दलको बैठक बसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिएको उनले बताइन् ।
एकीकृत समाजवादीबाट मधेस सरकारमा २ जना मन्त्री सहभागी थिए । संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुंगेली सरकारमा सहभागी भएका थिए । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेस सरकारबाट बाहिरिएका थिए । यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । नेपाली कांग्रेसले भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने
नेपाली कांग्रेस मधेस प्रदेशले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको हो । संसदीय दलका नेता कृष्णा यादवले बोलाएकोे बैठकले बुधबार सदनबाट मुख्यमन्त्री यादवले लिनको लागेको विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार पाँचौँ पटकको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा समर्थन गर्ने निर्णय भएको हो । देशको राजनीति परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेस मधेसले मुख्यमन्त्री यादव सरकारको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको हो जनाएको छ ।
मधेस प्रदेश सभामा कांग्रेसका २२ जना प्रदेश सांसद छन् । जसपासँग कांग्रेस उभिएपछि यो दलका सांसदहरूको संख्या ४१ पुगेको छ । सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ । एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५औँ दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन । मुख्यमन्त्री यादव आफ्नै नेतृत्वमा सरकार रहनेमा अझ पनि विश्वस्त छन् । यद्यपि, विपक्षी दलहरूले भने केन्द्रको सत्तारूढ दलहरूको सहकार्यमा नयाँ सरकार बन्ने बताइरहेका छन् ।
प्रतिक्रिया