गणतन्त्र स्मारक बेवारिसे

‘नारायणहिटी दरबारभित्र गणतन्त्र स्मारक बनेको पाँच वर्ष भइसक्यो, ताला लगाइराखेको छ, त्यो पार्कमा जनतालाई घुम्न र अध्ययन गर्न तुरून्त खुला गर्नुपर्छ । नेपाल सरकारले व्यवस्थापन गर्न नसक्ने हो भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिनुपर्छ ।’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले भने । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याउनेहरूको सम्झनामा ४५ करोड रुपैयाँ खर्च गरेर बनाइएको स्मारकको उद्घाटन २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

गणतन्त्र स्थापना लगत्तै २०६५ सालमा ल्याइएको बजेटमा गणतन्त्र स्मारक बनाउन रकम विनियोजन गरिएको थियो । २०६९ चैतदेखि निर्माण सुरु भएको गणतन्त्र स्मारक २०७२ मंसिरमा सम्पन्न गर्ने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका कारण ४ वर्ष ढिलाइ भएको थियो । नारायणहिटी दरबार परिसरको पूर्वी क्षेत्रमा करिब ३५ रोपनी क्षेत्रफल जग्गामा स्मारक बनेको छ । स्मारकमा गणतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृति राखिएका छन् । स्मारक अपांगमैत्री छ ।

आकर्षक बगैँचा, वाटर फाउन्टेन र विशेष बत्तीले स्मारक सजाइएको छ । स्मारकको अग्रभागमा ५ टनको ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपाल संविधान २०७२’ लेखिएको छ । गणतन्त्र स्मारकमा १२ मिटर उचाइका ४ स्तम्भहरू छन् । यी ४ वटै स्तम्भका अलग–अलग विम्व छन् । गणतन्त्र स्मारकमा संग्रहालयसमेत छ । संग्रहालयमा विक्रम संवत् २००७ सालअघिको मुक्तिमोर्चाको कारबाही, २००७ सालको क्रान्ति र प्रजातन्त्र घोषणा, २०१५ सालको आमनिर्वाचन र शपथ, २०३६ सालको जनमतसंग्रह घोषणा र आमसभा, २०४६ सालको जनआन्दोलन र २०६२–०६३ को दोस्रो जनआन्दोलनका तस्बिरसमेत राखिएको छ ।

२०७६ सालमा उद्घाटन हुँदा नै तत्कालीन पर्यटनमन्त्री योगश भट्टराईले अवलोकनका लागि छिट्टै नै खुला गर्ने जनाएका थिए । उद्घाटन भएको ७ महिनापछि २०७६ माघ २२ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी दरबारमा बनेको गणतन्त्र स्मारक हटाउन माग गरेका थिए ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै नेपालले भनेका थिए– ‘नारायणहिटी दरबारका संरचना नेपालमा शासन गर्ने सिंगो शाह वंशको, व्यवस्थाको झल्किने हुनुपर्दथ्यो । त्यहाँ लगेर गणतन्त्र स्मारक बनाइयो । गणतन्त्र स्मारक नयाँ ठाउँमा बनाउनुपर्नेमा नारायणहिटीमा बनाइयो, त्यो गलत भएकाले हटाइदिनुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले माग गरेजस्तै गणतन्त्र स्मारक हटाउने उद्देश्यले नै सरकारले अहिलेसम्म ताला लगाएर राखेको हो या, अरू नै कुनै कारण छ ? भन्ने स्पष्ट हुन सकेको छैन । तर खुलमखुला राजतन्त्र पुनवर्हालीको एजेन्डा बोकेको राप्रपाले गणतन्त्र स्मारक छिटो खुला गर्न संसद्मा आवाज उठाउनु भनेको गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका पार्टी तथा नेताहरूका लागि धेरै ठूलो चुनौती हो ।

गणतन्त्र स्मारक निर्माण गर्ने निर्णय सही भए पनि स्थानको छनौट गलत भएको पूर्वप्रधानमन्त्री नेपालको तर्क आफ्नो ठाउँमा जायज होला, तर समयमै यो गल्ती सच्याउन सक्ने ठाउँमा उनी थिए । किनकी गणतन्त्र स्मारक बनाउने निर्णय गरिएको २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा हो । गणतन्त्र स्तम्भ निर्माण आरम्भ भएको २०६९ सालदेखि हो । यस बीचमा २०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म २२ महिना नेपाल नै प्रधानमन्त्री थिए । त्यसैले उनले आफूलाई पानीमाथिको ओभानो ठान्न मिल्दैन । हाम्रो देशको नीति निर्माणतहमा रहनेहरूको दूरदृष्टि कम छ भन्ने उदाहरणहरू अरू पनि छन् ।

तर, राज्यको ठूलो रकम खर्च भइसकेको पूर्वाधारलाई यसरी अलपत्र नपारौँ भन्ने राप्रपाका सांसद सिंहको माग नाजायज होइन । भोलि उपयुक्त ठाउँ खोजेर अर्कै गणतन्त्र स्मारक बनाउन सकिन्छ, साविकको स्मारकलाई नारायणहिटी दरवार संग्रहालयकै एक अंगका रूपमा अघि बढाउन सकिने संभावना जहिले पनि रहन्छ । राजतन्त्र पुनवर्हाली गर्ने अभियानमा लागेका सांसदबाट आएको यो सुझावलाई सदासयताका रूपमा लिनुपर्छ ।

प्रतिक्रिया