ट्रायल पास गराइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका– २ मा सञ्चालन रहेको ट्रायल सेन्टरमा सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा दिन आउने सेवाग्राहीहरुसँग रकम लिने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले २ दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।

यातायात व्यवस्था कार्यालय गौरले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको ट्रायलमा पास गराइदिने भनी प्रति व्यक्ति रु १० हजारदेखि ३० हजासम्म रकम असुल्ने गरेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले ट्रायल सेन्टरबाट नै २ दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यही १८ गतेम पक्राउ परेका चितवन भरतपुर महानगरपालिका– ३ घर भै हाल वड़ा नम्बर १० स्थित कान्तिपुर ड्राइभिङ सेन्टर सञ्चालन गरी बसेका ४५ वर्षीय रमेश पाठक र रौतहटको गौर नगरपालिका– १ बस्ने ४८ वर्षीय श्याम नारायण साहलाई प्रहरीले आइतबार सार्वजानिक गरेको जनाएको छ ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा पास गराइदिने भनेर अवैधरुपमा रकम असुली तथा ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धानको अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया