बारा । यस वर्षको गर्मीयाम सुरु भएयता पहिलो पटक वर्षा हुँदा गर्मी र सुख्खाले आक्रान्त बनेका किसानले केही राहत महसुस गरेका थिए । तर पुनः मौसमले कोल्टे फेरेपछि यहाँका मानिसलाई बेजोड गर्मीको सामना गर्नुपरिरहेको छ ।
गर्मी र सुख्खाले जनजीवनलाई मात्र असर पुर्याएको छैन । यसले सबभन्दा बढी कृषि क्षेत्रलाई प्रभावित बनाएको छ । सिँचाइ सुविधा पुगेका केही किसानले मात्र चैते धान लगाएका छन् । तर बाली लगाइसकेको किसानलाई त्यसलाई जोगाउनै धौं धौं परीरहेको छ । मौसमी वर्षामा टिकेको बालीनालीलाई उब्जाउन अहिले भूमिगत सिँचाइलाई विकल्पमा लिइए पनि त्यो धेरै खर्चिलो भएकाले किसान थप चिन्तित बनेका छन ।
समय समयमा वर्षा किसानलाई धेरै समस्या भएको कलैया उपमहानगरपालिका वडा नं. १७ ब्रम्हपुरीका किसान रामईश्वर पटेलले बताए । ‘पर्याप्त वर्षा नहुँदा अहिलेसम्म अर्को बाली किसानले लगाउन सकेका छैनन्,’ उनले भने, ‘सिँचाइको विकल्पको रुपमा रहेको विद्युतिय मोटर समेत भोल्टेज नपुगेर सञ्चालनमा कठिनाई भईरहेको छ ।’ अहिले त आफुहरूलाई सिँचाइ गर्न झन समस्या बढेको उनले जानकारी दिए ।
परम्परागत रुपमा सञ्चालन हुदै आएको बाँध पईन बन्द हुदा अहिले किसानलाई सिँचाइ गर्न धेरै समस्या भएको कलैया उपमहानगरपालिका वडा नं. १७ कै अर्का किसान करीमन पटेलले बताए ।
‘खेती गर्दा सबभन्दा बढी सिँचाइमै खर्च हुने गरेको छ,’ उनले भने, ‘आकाशे पानीको भरमा खेती गर्दै आएका किसानलाई यसपाली लगानी उठान समेत मुश्किल पर्ने आकलन गरिएको छ ।’ सिँचाइमै धेरै पैसा खर्च भएको उनले सुनाए ।
बाली उत्पादनको प्रमुख आधार नै सिँचाइ हो । तर सुख्खा भईदिएपछि किसानलाई स्यालो ट्युवेलबाट पनि सिँचाइ गर्न समस्या भईरहेको कलैया उपमहानगरपालिका वडा नं. १६ उत्तरझिटकैयाका किसान हरी यादवले बताए ।
धेरै ठाउमा ट्युवेलमा पानी आउने समेत छाडीसकेको छ । त्यसैले सतही सिँचाइलाई प्राथमिकता दिनु पर्नेमा कृषि ज्ञान केन्द्र बाराका निमित्त प्रमुख राजनारायण प्रसाद साहले बताए ।
‘तराई मधेसमा बसोवास गर्ने अधिकांश परिवार कृषिमा अधारित छन,’ उनले भने, ‘उनीहरू सबै आकाशे पानीको भरमा खेती गर्छन ।’ तर यसपाली चाहिएको बेलामा वर्षा नभईदिदा किसानलाई समस्या भएको उनले बताए ।
स्थानीय खोला, नदी सुकेर परम्परागत रुपमा संचालित बाँधपईन समेत ठप्प हुदा किसानलाई सिँचाइमा थप आर्थिक भार थपिएको उनले बताए ।
उनका अनुसार, गत वर्ष चैते धान १६ हजार हेक्टर, भदैया धान १२ हजार ९ सय हेक्टर र अगहनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाईएको थियो ।
यस वर्ष १७ हजार हेक्टरमा चैते धान लगाई सकेको अवस्था छ । चैत्े धानको खेती बढे पनि खडेरीले किसानलाई चिन्तित बनाएको उनको भनाई छ ।
सिँचाइको लागी प्रयोग हुदै आएको खोला नाला खडेरी पुर्ण रुपमा सुकीसकेका छन । स्यालो ट्युवेलको ग्राउण्ड लेवल पनि घटी सकेको छ । त्यसैले देशको ठुला नदीको पानीलाई नहरको माध्यमबाट सतही सिँचाइको रुपमा प्रयोग गर्नु पर्नेमा विज्ञहरूको जोड छ ।
प्रतिक्रिया