म्याग्दी युवा भलिबल कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई

म्याग्दी । बेनीमा बिहीबार सम्पन्न दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ । १३ समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई २–३ को सेटमा पराजित गरेको हो ।

पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो ।

बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल संघ सान्त्वना पुरस्कार पाएको छ । पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः नगद दुई लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन् ।

यसैगरी, ६ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन् ।

राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गरेका थिए ।– रासस

प्रतिक्रिया