हरित नगरपालिका बनाउने अभियानमा पहोराको प्रगति

रौतहट । वातावरणमा नकारात्मक प्रभाव परिरहेको र हरियालीको अभाव हुँदै गएको अवस्थामा रौतहटको एक पालिकालाई हरित पालिका बनाउने अभियान सञ्चालन गरेको छ । जिल्लाको परोहा नगरपालिकालाई हरित पालिका बनाउने अभियान सञ्चालन भएको हो ।

अन्य पालिकाले विश्व वातावरण दिवसको दिन गमलामा पानी हालेर सामाजिक सञ्जालमा फोटो हाल्दै हरियाली बचाउने घोषणा गरिरहेका बेला परोहा नगरपालिकाले व्यवहारमा नै हरियालीको प्रबर्धन, संरक्षण तथा विस्तार गरिरहेको छ । निर्वाचनको समयमा गरिएको घोषणालाई व्यवहारमा उतार्दै परोहाले हरियाली प्रबर्धन अभियान नै थालेको हो ।

नगरप्रमुख शेख वकिलले पन्ध्र किलोमिटर पक्की सडक निर्माण गरेर दुवैतर्फ वृक्षरोपण गरिएको बताए । सुकदेव चौकदेखि भारतको सिमानासम्म करिब १३ किलोमिटर ट्रयाक खोलेर सडक विभागबाट पिच बनाइ सडकको दुवैतिर वृक्षरोपण गरिएको छ । यसै गरी हुलाकी सडकको दुवैतिर वृक्षरोपण गरी हुर्काइ सकिएको र अन्य सडकहरूमा पनि वृक्षरोपण गरिएको बताउँदै नगरप्रमुख वकिलले अब एक घर दुई बिरुवा अभियान सञ्चालन गर्न लागेको बताए ।


हरेक परिवारलाई दुई थान बिरुवा उपलब्ध गराउने तथा हरेकलाई हुर्काउने जिम्मेवारी पनि दिइने नगर प्रमुखको भनाइ छ । हरेक वर्ष पाँचदेखि दश लाख रुपैयासम्म बोटबिरुवाका संरक्षणका लागि मात्र खर्च गर्ने गरेको वकिलको भनाइ छ । वातावरणमा सकारात्मक प्रभाव पार्ने, नगरको सौन्दर्यमा वृद्धि हुने तथा सबैको लागि फलदायी हुने भएकोले हरित पालिका अभियान फलदायी बनिरहेको नगरप्रमुख वकिलको भनाइ छ ।

नगरपालिकाले रोप्नको लागि आवश्यक पर्ने बिरुवा बन कार्यालयबाट ल्याउने गरेको छ । बिरुवालाई घेराबेरा गर्ने, बिरुवा हेर्ने हेरालु, निरन्तर पानी हाल्ने र सिंचाइ गर्ने, गोडमेल गर्ने, सरसफाइ गर्ने काम नगरपालिकाको तर्फबाट हुँदै आएको छ । परोहका प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुजले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस अभियानमा लगाउने योजना बनाएको बताएका छन् ।
परोहा नगरपालिकाको हरित नगर अभियानको प्रभावकारिता निकै राम्रो रहेको भन्दै स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।

प्रतिक्रिया