महिलालाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर तालिम

सर्लाही । सर्लाहीको लालबन्दी नगरकी उपप्रमुख कल्पना पाख्रिनले सबै महिलाले नगरपालिकामा के के कार्यक्रमहरु सञ्चालन भइरहेको छ भनेर चासो दिनुपर्ने बताएकी छिन् । नगरपालिकाले लक्षित बर्ग बजेट अन्तर्गत रहेर महिलाको लागि विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गरेको भए पनी त्यसमा महिला र एकल महिलाले चासो नदिँदा बजेट नै फ्रिज हुने गरेको बताइन् ।

वडा नम्बर ६ ले वडा भित्रका महिलाका लागि सञ्चालन गरेको व्यवसायीक ब्युटीपार्लर सीप विकास तालिमको उद्घाटन गर्दै उपप्रमुख पाख्रिनले महिलाले चुलो चौकोबाट बाहिर निस्कनका लागि सीप सिक्नु जरुरी रहेको बताइन् । चुरा, टीका किन्न समेत श्रीमान्, सासू ससुराको भर पर्नुपर्ने अवस्थामा रहेका महिलाले विभिन्न सीप सिक्न सके आफ्नो मात्रै नभएर परिवारकै आर्थिक बोझ कम गर्न सक्ने उनले बताइन् ।

वडाध्यक्ष लालकुमार योन्जनको अध्यक्षता एवम् उपप्रमुख पाख्रीनको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा नगरको मेड्पा शाखाका समीर सुवेदी, एकल महिलाको नगर कमिटी अध्यक्ष झम्का धिताल, वरिष्ठ फोटो पत्रकार रोहित पौडेल, वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष योन्जनले वडामा बिभिन्न सीपमुलक कार्यक्रम संचालन भईरहेको बताउँदै वडाबासिलाई समृद्धि तर्फ अग्रसर गराउन वडा प्रतिबद्ध रहेको बताए । वडाका १५ जना महिलाहरु सहभागी तालिम सफलताको शुभकामना दिँदै वडाध्यक्ष योन्जनले सहभागीहरुलाई प्रतिबद्ध भएर सीप सिक्न आग्रह गरे ।

प्रतिक्रिया