अनुगमन अभावमा कार्यान्वयन भएन सरकारी निर्देशन

जनकपुरधाम । खानपानको असरका कारण मानिसको घट्दो आयुलाई मध्यनजर गर्दै सरकारले विभिन्न किसीमको प्रयोग हुने बस्तुलाई प्रयोग गर्नबाट बन्देज गरेपनि नियामक निकायबाट कडा अनुगमन नहुँदा सरकारको निर्देशनको पालना हुन सकेको छैन ।
खाद्यपदार्थको सिधा सम्पर्कमा आउने कागजले स्वास्थयमा असर पार्ने भन्दै गत वर्षको माघ २५ गतेनै यस्ता कागजलाई खाद्यपदार्थ खाँदा वा दिँदा प्रयोग नर्गन निर्देशन जारी गरेको थियो । तर त्यसको पालना हुन सकेको छैन । सरकारले जारी गरेको सूचनामा कुनै पनि खाद्य उत्पादक व्यवसायी वा विक्रेताले खाद्यपदार्थको सिधा सम्पर्कमा आउने गरि मसिले लेखिएको, छापिएको वा रंगाइएको कागजलाई प्रयोग गर्न नपाईने भनि मापदण्ड निर्धारण गरिएको थियो ।

खासगरी बेकरी, मिठाई, मुरही कचरी, छोला च्युरा, समोसा, चटपटे लगायतका वस्तुहरु होटल व्यवसायीले त्यस्ता कागजको प्रयोग गर्दै आएका छन् । कृषि तथा पशुंपक्षी विकास मन्त्रालय अन्तरगतरको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरिएको सूचनाको वर्खिलाप गएको पाइएमा कारवाही गरिने चेतावनी दिए पनि यस सूचनाको कसैले पनि टेरपुच्छर लाएको छैन ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका अनुसार रंग प्रयोग भएको कागजको प्रयोगले उक्त रंग शरिरमा ट्रान्सफर हुने र यसबाट स्वास्थ्यमा गम्भीर असर पर्ने विभिन्न रोगहरु देखापर्ने भएकोले यसको प्रयोगमा रोक लगाइएको छ । रंगले शरिरमा हद्यघात, डायविटिज, मोटोपाना लगायतको रोगलाई बढावा दिने भएको र अहिलेको समयमा यस्ता रोगीको संख्यामा वृद्धि हुदै गर्दा सरकारले यसको प्रयोगमा रोक लगाइएको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य अनुसन्धान अधिकृत तथा सूचना अधिकारी सतिस मण्डलले राजपत्रमा प्रकासित भइसकेपछि अहिले वेभसाइटमा राख्न लगाएकोले खासै जनस्तरमा पुग्न नसकेको बताउदै विस्तारै जनचेतना फैलिदा यसको प्रयोगमा न्युनता आउने बताए । उनले जनकपुरधामको बजारमा एक हप्ता पहिलेनै अनुगमन गरेको बताए । सुरुवातको क्रममै रहेकोले अहिले यस्ता कागज खानेकुरामा प्रयोग नगर्नका लागि जनचेतना फैलाएको बताउदै सूचना अधिकारी मण्डलले प्रयोग गर्ने क्रम जारी राखेमा कारवाही गरिने बताए ।

उनका अनुसार मधेशमा यस्ता कागजको व्यापक प्रयोग हुदै आएकोले यसलाई एकैचोटी रोक्न कठिन हुने भएकोले पहिलो चरणमा ठाँउ ठाँउमा जनचेतना फैलाउने कार्य गरिरहेको छ ।
यता जनकपुरधाम उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले सूचना जारी गर्न वा नगरमा कार्यान्वयन गराउन कुनै परिपत्रनै नआएको बताए । सूचना जारी भएको लामो समय हुँदा पनि जनकपुरधाम उपमहानगरपालिकामा अहिलेसम्म कुनै किसिमको जानकारी नरहेकोले उपमहानगरले कुनै पहल नगरेको बताए । जनकपुरधाममा लगभग ६० प्रतिसत पसलमा त्यस्ता कागजको प्रयोग भइरहदा कुनै परिपत्र नै नआएको जनकपुरधाम उपमहानगरको भनाई छ ।

त्यसैगरि मधेसमा नै बढि प्रयोग हुने तथा बालबालिकाले मनपराउदै आएको हवाई मिठाई (कटन क्याण्डी) को विक्री वितरणमा रोक लगाउन सकिएको छैन । खास गरि बालबालिकाले खादै आएको हवाई मिठाईमा रोडा माइन विको नामको अखाद्य रंग प्रयोग हुँदै आएको र सो स्वास्थयका लागि निकैनै हानिकारक रहेकोले सरकारले गत वर्ष माघ ८ गतेदेखि सूचनानै जारी गरि विक्री वितरणमा रोक लगाउन निर्देशन दिएको थियो ।

यसका लागि खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले विभिन्न समयमा अनुगमन गरि त्यस्ता समाग्रीलाई नष्ट गरे पनि विक्री वितरणमा रोक लगाउन सकिएको छैन । कृषि तथा पशुपन्छी विकास कार्यालयले जारी गरेको सूचनामा विभिन्न स्थानमा सडकपेटी, बजार, मेला लगायतका स्थानमा विक्री वितरण भइरहेको रंगिन कट्न क्याण्डीमा मानव स्वास्थ्यमा असर पु¥याउने अखाद्य रंग रोडा माइन विको प्रयोग भएकोले विभागबाट अनुज्ञापत्र पत्रप्राप्त गरी लेवल लगाइएका बाहेकका कटन क्याण्डी उपभोग नर्गन अनुरोध गरेको छ । साथै विक्री वितरण नगर्न नगराउन र कानुनको बर्खिलाप गए कडा कारवाही हुने सूचनामा भनिएको छ ।
कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने चिकित्सकको भनाई छ । उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।

गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रविण तिवारीका अनुसार यसलाई अनुगमन गरेर मात्रै पुर्णरुपमा रोक लगाउन सकिदैन, यसका लागि स्थानीयस्तरमा जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको छ । बालबालिकाको स्वास्थ्यका लागि अभिभावक आफै अग्रसर नभएसम्म यसको विक्री वितरणमा न्युनिकरण गर्न कठिन हुने उनको भनाई छ ।

जनकपुरधामका संचारकर्मी शुभाष कर्णका अनुसार खाद्यपदार्थमा सिधा सम्पर्कमा आउने रंग प्रयोग भएको कागज र हवाई मिठाईको प्रयोगलाई रोक्न सरकारलाई त्यति सहज छैन् । यसलाई शहरमा न्युनिकरण त गर्न सकिन्छ तर ग्रामीण क्षेत्रमा यसको प्रयोग रोक्न सरकारलाई निकै सकस हुने उनले बताए । ग्रामीण क्षेत्रमा पुराना किताब, कागज प्रयोग गरेरनै खाद्यपदार्थ विक्री वितरण गर्दा सस्तो हुने तर कलररहित कागज वा अन्य कुनै विकल्प प्रयोग गरिएमा महगो हुने भएकोले यसको प्रयोग रोक्न कठिनाइ रहेको बताउदै पत्रकार कर्णले यसका लागि सरकारले स्थानीयस्तरमा जनचेतना फैलाएर स्वास्थ्यमा हुने असरको विषयमा चेतना फैलाए मात्र यसको प्रयोगलाई न्युनिकरण गर्न सकिन्छ ।

यता व्यापार मन्दीको कारण आर्थिक अवस्था दयनीय बन्दै जाँदा व्यवसायीले पनि कागजको प्रयोगलाई न्युनिकरण गर्न नसक्ने अवस्था रहेको जनकपुरधामका व्यवसायीको भनाई छ । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष मनिष रमण साहका अनुसार जनकपुरधामबाट प्लास्टिक प्रयोग न्युनिकरण गर्नका लागि कपडा अथवा कागजको झोला प्रयोग गर्न भनिएको थियो । तर त्यसले मुल्यवृद्धि हुने देखेर प्लास्टिक न्युनिकरणको अभियानल े सार्थकता पाएन । कलर रहित कागजलाई विस्थापित बनाउन मुल्यवृद्धि नहोस भनि सरकारले नीति बनाएर लागु गरे यसको प्रयोगमा न्युनिकरण गर्न कठिन रहेको उनको तर्क छ ।

कलर रहित कागजको विस्थापनका लागि सूचना जारी गरेर मात्रै नभई जनचेतना र स्वास्थयमा असर मात्रै होइन मुल्यमा पर्ने असरको पनि ध्यान राखी सरकारले कारवाही अगाडी बढाए कार्यान्वयन हुने अधिकांसको भनाई छ ।

प्रतिक्रिया