सरकारले मंगलबार ल्याएको बजेटमा भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । यसको नाम गण्डकी आर्थिक त्रिभुज परियोजना राखिएको छ । यो परियोजनाका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्रिभुज परियोजनाअन्तर्गत भरतपुर–पोखरा सडकखण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र, भरतपुर–बुटबल सडकखण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र बनाइने उल्लेख छ । यसैगरी पोखरा–बुटवल सडकखण्डमा विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने जनाइएको छ । सरकारले त्रिभुज परियोजनाका लागि छनोट गरेका यी ३ वटै सहर अहिले पनि राजधानी काठमाडौँपछि मुलुकको आर्थिक केन्द्रका रूपमा विकास भइसकेका छन् । देशकै केन्द्र भागमा पर्ने भएका कारण यी क्षेत्र सबैका लागि पायक पर्छन् ।
त्यसमा पनि पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेका छन् । बुटबलबाट भरतपुर हुँदै पोखरा जोड्ने सडकलाई निकै सुविधासम्पन्न बनाउन लागिएको छ । एक वर्षभित्रै यो काम सम्पन्न हुनेछ । यो क्षेत्रमा औद्योगिक विकासको पूर्वाधार करिबकरिब बनिसकेको छ । तर, बुटवलबाट स्याङ्जा हुँदै पोखरा जोड्ने सडक विस्तारको काम भने अझै सुरु भएको छैन । यो सडकलाई सुविधा सम्पन्न बनाउन छोटो समय र सानो बजेटले पुग्ने अवस्था पनि छैन ।
हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशले औद्योगिक विकासका लागि धेरैतिर बजेट विनियोजन गर्न सम्भव छैन । एकैचोटि धेरै ठाउँमा औद्योगिक पूर्वाधार तयार गर्न सकिने सामथ्र्य पनि छैन । त्यसैले निश्चित क्षेत्रमा औद्योगिक पूर्वाधार तयार गर्ने र त्यसैबाट आर्जन भएको पुँजी, प्रविधि, अनुभव तथा जनशक्तिलाई देशका अन्य ठाउँमा विस्तार गर्दै लैजानु दूरदर्शिता हो । छिमेकी देश चीनले यही रणनीतिका साथ फड्को मारेको हो । सरकारले प्रस्ताव गरेको आर्थिक त्रिभुजमध्ये बुटबल–भरतपुर करिडोरले औद्योगिकरणमा सन्तोषजनक फड्को मारिसकेको छ । मुग्लिन–पोखरा करिडोर क्षेत्र भर्खरभर्खर व्यवसायीकरणको दिशामा अघि बढेको छ । यस क्षेत्रको बन्दीरपुरमा पर्यटन व्यवयासीहरूले ठुलो लगानी गरेका छन् । डुम्रे क्षेत्रमा सरकारले स्मार्ट सिटी निर्माणको परियोजना अघि बढाएको छ । दमौली क्षेत्र धार्मिक तथा शैक्षिक केन्द्रका रूपमा विकास भइसकेको छ । खैरेनीटार क्षेत्रमा पनि व्यापक चहलपहल सुरु भएको छ ।
गण्डकी आर्थिक त्रिभुज परियोजना सरकारको दूरदर्शी सोचको उपज हो भन्ने कुरामा दुईमत छैन । सरकारले मंगलबार ल्याएको बजेटमा उल्लेख गरिएका कतिपय घोषणामध्ये प्रतिपक्षीले समेत स्वागत गरेको परियोजना हो यो । यो परियोजनाबाट छिटो प्रतिफल चाहने हो भने २–४ वटा काम तत्कालै गर्नु जरुरी छ । पोखरा र भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सञ्चालनमा ल्याउन कति पनि ढिलाइ गर्नुहुन्न । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्छ । यसैगरी, चीनको सुविधासम्पन्न सडकसँग निकै छोटो र सजिलो दुरीले जोडिएको मुस्ताङको कोरला नाका यथाशक्य छिटो विकास गर्नुपर्छ । यसका लागि कालीगण्डकी करिडोर सडक निर्माणको गतिलाई तीव्रता दिनु जरुरी छ ।
प्रतिक्रिया