धनुषा । धनुषाका पत्रकार विनय कुमार यादवको घटनामा आरोपितमाथि पक्राउ पूर्जी जारी गरिएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरको अनुसन्धान छानबिनमा रहेको पत्रकार यादवको मुद्दामा जाहेरी परेपछि आरोपित फरार भएका छन् ।
पत्रकार यादवकी आमा कान्तीदेवी यादवले दिएको जाहेरीमा धनुषाधाम नगरपालिका –५ नौसयविघा बस्ने स्थानीय सुशिल यादव, उनका छोरा धीरेन्द्र यादव र बीरेन्द्र यादव फरार भएका जनाइएको छ । उनीहरुमाथि प्रहरीले पक्राउ पूर्जी जारी गरी खोजतलास गरिरहेको छ ।
पत्रकार यादवको मृत्यु शंकास्पद देखिएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुमाथि कर्तव्य ज्यानको जाहेरी दायर गरेको हो । पक्राउ परेका मोटरसाईकल चालक एवं मुख्य आरोपित ललन भन्ने लक्ष्मीनारायण यादवमाथि अनुसन्धान गहिरो बनाएपछि उनीहरुमाथि पक्राउ पूर्जी जारी गरिएको हो । यादवलाई ईलाका प्रहरी कार्यालय ढल्केवरमै राखेर अनुसन्धान जारी राखिएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरले उनीहरुमाथि पक्राउ पूर्जी जारी भएको र उनीहरु अहिले भागेको पुष्टि गरेको छ । प्रहरीका अनुसार, भगौडामा रहेका तीनै जनाको स्थिति समेत जानकारी लिसकेको र चाँडै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइने प्रहरीले जनाएको छ ।
गत बैशाख ११ गते पत्रकार यादवको ढल्केवर जनकपुरधाम सडकखण्डमा शंकास्पद मृत्यू भएको थियो ।
प्रतिक्रिया