महिलाहरुका लागि लालबन्दीमा ब्युटिपार्लर तालिम

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पना पाख्रीनले महिला तथा एकल महिलाहरुले नगरपालिकामा के–के कार्यक्रमहरु सञ्चालन भइरहेको छ भनेर चासो दिनुपर्ने बताएकी छन् । नगरपालिकाले लक्षित वर्ग बजेटअन्तर्गत रहेर महिलाहरुका लागि विभिन्नखाले कार्यक्रमहरु ल्याए पनि त्यसमा महिला र एकल महिलाले चासो नदिँदा बजेट नै फ्रीज हुने गरेको बताइन् ।

मंगलबार वडा नम्बर ६ ले वडाका महिलाहरुका लागि सञ्चालन गरेको व्यवसायीक ब्युटीपार्लर सीप विकास तालिमको उद्घाटन गर्दै उपप्रमुख पाख्रीनले महिलाहरुले चुलो चौकोबाट बाहिर निस्कनका लागि सीप सिक्नु जरुरी रहेको बताइन् । चुरा, टीका किन्नसमेत श्रीमान्, सासू ससुराको भर पर्नुपर्ने अवस्थामा रहेका महिलाहरुले विभिन्न सीप सिक्न सके आफ्नो मात्रै नभएर परिवारकै आर्थिक बोझ कम गर्न सक्ने धारणा राखिन् ।

वडाध्यक्ष लालकुमार योन्जनको अध्यक्षता एवम् उपप्रमुख पाख्रीनको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा नगरको मेड्पा शाखाका समीर सुवेदी, एकल महिलाको झम्का धिताल जिल्ला अध्यक्ष, वरिष्ठ फोटो पत्रकार रोहित पौडेल, वडा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष योन्जनले वडामा विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन भइरहेको बताउँदै वडा बासिलाई समृद्धितर्फ अग्रसर गराउन वडा प्रतिबद्ध रहेको बताए । वडाका १५ जना महिलाहरु सहभागी तालिम सफलताको शुभकामना दिँदै वडाध्यक्ष योन्जनले सहभागीहरुलाई प्रतिबद्ध भएर सीप सिक्न आग्रह गरे ।

प्रतिक्रिया