शासकका कारण बदनाम गणतन्त्र !

गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा भएको छ । हाम्रो देशको नाम नेपाल अधिराज्यबाट परिवर्तन भएर संघीय गणतन्त्र नेपाल भएको छ । धेरै ठुलो आशा तथा अपेक्षाका साथ नेपाली जनताले गणतन्त्र स्थापना गरेका हुन् । विश्वका प्रायजसो मुलुकले जुन शासन व्यवस्था अपनाएका छन्, नेपालले पनि त्यही शासन व्यवस्था अपनाएको छ । अन्य मुलुक यही शासन व्यवस्थामार्फत् समृद्ध हुँदै जाने, तर नेपाल भने झन्झन् कंगाल हुँदै जाने अवस्था सिर्जना किन भयो ? गणतन्त्र दिवस मनाउँदै गर्दा स्मरणमा आउने मुख्य प्रश्न यही हो ।


गणतन्त्र स्थापनायताका १६ वर्षलाई मूल्यांकन गर्ने हो भने केका लागि गणतन्त्र स्थापना भएको हो ? भन्ने प्रश्नको उत्तर धेरै निराशाजनक छ । वास्तवमा गणतन्त्र आफैँमा साध्य होइन । गणतन्त्र भनेको देश र जनताको हितका लागि अपनाइने शासन पद्धति हो । तर यो १६ वर्षको अवधिमा देश र जनताको हितभन्दा अहित हुने काम धेरै भएका छन् । यो अवधिमा ४ पटक आमनिर्वाचन र २ पटक स्थानीय तहको निर्वाचन हुनुलाई सन्तोषजनक मान्नुपर्छ । तर, निर्वाचित भएर आउने जनप्रतिनिधिले जनताको पक्षमा खासै काम गर्न सकेनन्, सरकार बनाउने र गिराउने खेलमा मात्रै लिप्त भए । यो १६ वर्षको अवधिमा १४ पटक सरकार परिवर्तन हुनु भनेको हाम्रा राजनीतिक दल तथा जनप्रतिनिधिहरूको घोर अयोग्यता हो । शासकहरूको असफलता हो ।

सरकारले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने भनिरहेको छ । तर, परिस्थिति भने भव्यताका साथ गणतन्त्र दिवस मनाउने गरी अघि बढिरहेको छैन । यतिसम्म कि गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका दलहरू समेत एउटै मञ्चमा उभिएर गणतन्त्र दिवस मनाउने अवस्थामा छैनन् । दलहरूबीच कटुता बढ्दै गएको छ । गणतन्त्रको प्रतिनिधि संस्था भनेको संसद् हो । तर, संसद्को कारबाही लामो समयदेखि ठप्प छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गणतन्त्र खतरामा परेको निष्कर्ष निकालिसकेको छ । यता, जनस्तरमा पनि गणतन्त्र दिवस मनाउने रुची घट्दै गएको छ । लोकतन्त्रको अनिवार्य सर्त निर्वाचन हो, तर निर्वाचन आफैँमा साध्य भने होइन । योग्य जनप्रतिनिधि ल्याउने साधन हो– निर्वाचन । निर्वाचनबाट योग्य जनप्रतिनिधि चुनिन नसक्नु जनताको पनि कमजोरी हो । गणतन्त्रको ऐना पनि हो संसद् । तर, सरकार निर्माणबाहेक संसद्ले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन ।

गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको संघर्ष तथा बलिदान सानो छैन । हजारौँ सहिद भएका छन्, हजारौँ अंगभंग भएका छन् । सयौँ नागरिक अहिलेसम्म पनि बेपत्ता छन् । नेपाली जनताले विश्वका अन्य देश सरह नेपालले पनि आर्थिक समृद्धिको यात्रा तय गरोस् भनेर नै राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेका हुन् । तर, देश र जनताको आर्थिक अवस्था निरन्तर ओरालो लागेको छ । देशकासय जना युवालाई सोध्ने हो भने ९५ जनाले नेपालमा नबस्ने जबाफ दिन्छन् । नागरिक स्वदेशमै बस्न नसक्ने अवस्था निर्माण हुनु भनेको सानो असफलता होइन ।

देश ऋणले चुर्लुम्म डुबेको छ । गाउँहरू खाली भएका छन् । पछिल्लो जनगणनाको प्रतिवेदनअनुसार पनि नेपालका करिब ५ लाख घर खाली भइसकेका छन् । पहाडी क्षेत्रमा जनसंख्या डरलाग्दो गरी घटेको छ । तराईको खेतीयोग्य जमिन मासिएको छ । जसका कारण कृषि उपज आयातमा वार्षिक खर्बौँ रुपैयाँ रकम बिदेसिने गरेको छ । शासन सत्तामा बस्नेहरूले गरेका भ्रष्टाचार तथा कुकृत्यका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।

गणतन्त्र भनेको त सीमित व्यक्तिलाई देश लुटिखाने अवसर प्रदान गर्नका लागि पो रहेछ ! भन्ने सन्देश जनतामा प्रवाह भइरहेको छ । किनकि हिजो फाटेका चप्पल लगाउनेहरू सत्तामा पुगेपछि अर्बपति बनेको जनताले आफ्नै आँखाले देखेका छन् । गणतन्त्रभन्दा त राजतन्त्र नै ठिक हो कि ? भन्ने जमात बढ्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुरु गरेको पुनर्बहालीको अभियानमा जनसहभागिता बढ्दो छ । तसर्थ प्राप्त उपलब्धिलाई संस्थागत गर्दै यो व्यवस्था जोगाउन सबै शक्ति एकजुट नहुने हो भने निकट भविष्यमै अर्को कुनै तन्त्र नामक शासन व्यवस्था स्थापित नहोला भन्न सकिन्न ।

प्रतिक्रिया