सडक डिभिजनको गेटमा मेयर बालेनले एक ट्रक माटाे खन्याएपछि…

काठमाडौं । सडक डिभिजन कार्यालयको गेटमा काठमाडौं महानगरपालिकाका मेयर (बालेन्द्र) बालेन साहले एक ट्रक माटाे खन्याएका छन् । मेयर साहले शनिबार आक्रोसित हुँदै सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक माटाे खन्याएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै मेयर बालेन आक्रोश भएका छन् । महानगरपालिकाको गाडीले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो खन्याउँदै गरेको भिडिओ सार्वजनिक गर्दै मेयर साहले आक्रोश व्यक्त गरेका हुन् ।

काठमाडौं महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन् ।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला, विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ,’ मेयर साहले लेखेका छन्, ‘काठमाडौंमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ, र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ ।’

उक्त सडकको धुलो जनताले मात्रै खाँदा राम्रो नहुने भन्दै उनले मन्त्रीलाई पायक पर्ने ठाउँमा पठाएको बताएका छन् । ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन, जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला,’ मेयर शाहले भनेका छन् ।

प्रतिक्रिया