अफ्रिका, अमेरिकाका हिमालपछि सगरमाथा चुचुरोमा बमबहादुर

काभ्रे । बमबहादुर बिक सानैमा सपना देख्थे र विपनामा कल्पना गर्थे । त्यो अमूल्य पहाड शिखरहरुप्रति विदेशीहरु किन मोहित छन् ? उनको यस्तै सोच ठूलो भएपछि पनि निरन्तर चल्दै रह्यो । उनी आफूलाई एक दिन ति शिखरहरुमा जाने र आफ्नो सपना विपनामा बदल्ने कुरा उनले दशकौँ पछि पूरा गरेका छन् । शिखर चुम्ने सपना देखिका उनले संसारको छानोको रूपमा रहेको सर्वोच्च उच्च शिखर सगरमाथाको जेष्ठ ६ गते विहान ५.५७ बजे सफल आरोहण गरेका छन् ।

बमबहादुर विक (बमकाजी सिर्पाली) सानोभेरी गाउँपालिका–१० रूकुम पश्चिमका हुन् । उनी एक निजामति कर्मचारीको रुपमा महालेखा नियन्त्रक कार्यलय अनामनगर अन्र्तगत हाल खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकमा नायब सुब्बा पदमा कार्यरत छन् ।
बमबहादुरले भने, ‘म एक कथित दलित परिवारको मान्छे हुँ, प्रकृतिले जातपात मान्दैन । हामी सबै समान छौँ, हौँ र त्यो अधिकार हामी जो कोहीले जो काहीँलाई बराबरको रुपमा निःसर्त पाएका हौँ ।’ उनले भने, ‘हामी पनि सक्छौँ’ भन्ने मुल उदेश्यसहित सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडी परेको वा अझ भनौँ पारिएको समुदायको एक पात्रको रूपमा मैले प्रतिनिधित्व गर्दै संविधानले नै जातिय रूपमा छुवाछुत जघन्य अपराधको रूपमा स्वीकार गरेको अवस्थामा सबै धर्म, जातजाति, बर्ग, लिङ्ग तथा समुदाय समान हुन भन्ने मुल सन्देशसहित साहसिक काम मार्फत रचनात्मक राष्ट्रव्यापी सन्देश दिन समगरमाथा आरोहण गरेको हुँ ।’

उनले एक पटक फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपुर्ण, जोखिमको सँगसँगै गौरवमय इतिहासका साथ अबिस्मरणीय यात्रा बनाउन गरेको कठिनपूर्ण निर्णय लिएकोमा यसले सार्थकता पाएकोमा उनी आफँै दंग भएका छन् । उनले हिमाल आरोहण गर्न अमेरिकादेखि प्रत्यक्ष सहयोग गर्ने दाइ आरसि खड्का, भाइ, सहकर्मी, नाम उल्लेख नगर्ने सर्तका केही सहयोगी मनहरु र आफ्नी उनीलाई हृदयदेखि धन्यवाद दिक्एा छन् ।

‘मेरा हरेक सफलतालाई आफ्ना सफलता सम्झेर रमाउने जन्म दिने बाबा आमा प्रति सधै नै ऋणी छु । यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देश तथा विदेशदेखि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरूमा कृतज्ञता प्रकृट गर्न चाहन्छु,’ उनले भने, यो मेरो नेपाल र नेपालीसँगै निजामती क्षेत्रलाई चिनाउने मेरो प्रयत्न हो ।’

काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायब सुब्बाको रूपमा कार्यरत बमबहादुर सिर्पालीले यस अघि सात महादेशको उच्च शिखर मध्येको दु्ई वटा दक्षिण अमेरिकाको एकान्कागुवा र अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरोमा सफल आरोहण गरेर निजामती कर्मचारी तर्फ किर्तिमानी रचेका थिए ।

किलिमन्जरोमा तान्जनियाको स्थानीय समय अनुसार २७ सेप्टेम्बर २०२३ को बिहान ६ बजेर १८ मिनेटमा आरोहण गर्न सफल भएका थिए भने, एकान्कागुवा ६ हजार ९ सय ६२ मिटरमा अर्जेन्टिनाको स्थानीय समय अनुसार १३ फेब्रुअरी २०२४ विहान ९.५९ बजे सफल आरोहण गरेका थिए । उनले त्यस अघि नै नेपालको किलर माउन्टेनको रूपमा परिचित मनास्लु हिमाल ८ हजार १ सय ६३ मिटरमा २०७६ असोज ०६ गते आरोहण गरेका थिए ।

पहिलेका आरोहणले पनि निजामती कर्मचारीको रूपमा पहिलो आरोहीको रुपमा चिनिएका थिए । यस्तै बमबहादुरले नेपालको लोबुचे पिक ६ हजार १ सय १९ मिटरमा २०७८ बैशाख ११ गते आरोहण गरेका थिए ।

प्रतिक्रिया