जनकपुरधाम । जिल्ला परियोजना सल्लाहकार समितिले विभिन्न परियोजनाहरूका गतिविधिहरूको अवलोकन तथा अनुगमन गरेको छ । प्लान इन्टरनेसनल नेपालको धनुषा जिल्लाका लागि स्थानीय साझेदार संस्थाहरू जानकी महिला जागरण समाज र सर्पोट नेपालमार्फत सञ्चालित परियोजनाका गतिविधिको अवलोकन तथा अनुगमन गरेको छ ।
समुदाय केन्द्रित सशक्तिकरण परियोजना अन्तर्गत सबैला, शहिदनगर, कमला, विदेह र जनकनन्दिनी पालिकामा सञ्चालित दक्ष युवा तथा कमला र शहिदनगरमा सञ्चालित बालिका सशक्तिकरण परियोजनाहरू अन्तर्गत सञ्चालित क्रियाकलापहरूको अवलोकन तथा अनुगमन गरिएको जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्णले जानकारी दिइन् ।
उनले दक्ष युवा कार्यक्रममार्फत पाँचवटा पालिकाका सिमान्तकृत, दलित र आर्थिक रुपमा कमजोर रहेका परिवारका १८ देखि २४ वर्ष उमेर समूहका ३५० जना युवा, महिला तथा पुरुषहरूको सशक्तिकरण मार्फत ५ं० प्रतिशतलाई रोजगारी र बाँकी ५० प्रतिशतलाई स्वरोजगारीका क्रियाकलापमा सामेल गराई उनीहरूको जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत अनुगमन भ्रमण टोलीले यस परियोजना अन्तर्गत शहिदनगर नगरपालिकामा सञ्चालित सिटिइभीटी अन्तर्गतको लेभल–१ को असिस्टेन्ट टेलर सिप तालिम र मोटरसाइकल मेकानिक तालिमको अवलोकन र सहभागीहरू तथा स्थानीय पालिकाका सरोकारवालासँग अन्तरक्रिया र छलफल गरेको थियो ।
त्यस्तै बालिका सशत्तिकरण परियोजना अन्तर्गत अभिभावक शिक्षामा सामेल अभिभावकहरू र साथी शिक्षा क्रियाकलाप अन्तर्गत सहभागी भएका किशोर किशोरीहरूसँग विविध विषयमा छलफल भएको थियो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको अगुवाइमा गएको अनुगमन टोलीमा धुनषाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ धनुषा, जनकपुरधाम उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय महिला सेल, जिल्ला स्वास्थ्य कार्यालय धनुषा, जिल्ला युवा समिति धनुषा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झालगायतको सहभागिता रहेको थियो ।
टोलीमा प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार संस्थाहरू जानकी महिला जागरण समाज र सर्पोट नेपालका तर्फबाट समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया