आँगनमै खानेपानीको पाइप, पानी खोज्न मध्यरातमा खोलातिर !

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायत बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारबाट १३ किलोमिटर दुरीमा रहेको सो ठाउँमा विगतदेखि नै खानेपानीको समस्या छ । घरअगाडि नै पाइप पुगे पनि नियमित पानी आउँदैन । बर्खामा पानीको सहज आपूर्ति हुने भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकुल हुन्छन् ।

धारामा पानी नआएपछि ३ घन्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताइन् । उनका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ । धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुर्नुपर्ने अवस्था छ ।
सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ । ‘घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ,’ उनले भनिन्, ‘तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइनपु¥याउँदा त्यतिबेलासम्म खाना पाकेको हुँदैन ।’

गाउँका सबै मान्छे २–३ घन्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भने पछि गएकाहरूले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताइन् । ‘पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ,’ उनले भनिन्, ‘पानी ल्याउनलाई राति नै निद्रा छाडेर उठ्नुपर्छ ।’

पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ, नपाए १०/११ बज्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूका अनुसार त्यहाँ थापानी र घुटघुटेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका २ ट्यांकी छन् । तीमध्ये एउटा ट्यांकीको कल्लेबल्ले र अर्को ट्यांकीको अम्बास पानीका लागि पाइपबाट पठाउने गरिन्छ । त्यहाँ पानी नपाउने समस्याले वर्षौंदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताए ।

अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्नैबित्तिकै जाने गर्छ । ४ वर्षअघि त्यहाँ विद्युत् जडान गरिएको हो । उनका अनुसार बीचबीचमा विद्युत् जाने आउने समस्या भइरहने गर्छ । ‘एउटा रूख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन,’ स्थानीय अगुवा लीलामणि बाँठाले भने, ‘सडक पनि वर्षात्मा त्यस्तै समस्या हुन्छ ।’ यहाँ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, शीतधारालगायत गाउँमा करिब ३०० भन्दा बढी घर छन् ।

प्रतिक्रिया