हेटौँडा । बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौँडा आइपुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीहरुसँग बोल्न अनिच्छा देखाएका छन् ।
हेटौँडामा गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको दुईदिने सुरक्षा गोष्ठीको समापनपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीहरु आफ्ना जिज्ञासा राख्न खोजे पनि त्यसो हुन सकेन । कार्यक्रमस्थलबाट निस्किँदै गर्दा सञ्चारकर्मीहरुबाट घेरिएका गृहमन्त्री लामिछानेले ‘तपाईँहरुलाई मेरो भन्नु केही छैन’ भन्दै टारेका थिए ।
सञ्चारकर्मीहरुसँग बोल्न नचाहेका गृहमन्त्री लामिछानेले सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा भने स्थानीय प्रशासनको उपस्थितिले पीडितका लागि भर र पीडकका लागि डर सिर्जना हुनुपर्ने भन्दै त्यसका लागि खरो उत्रन सुरक्षा निकायहरुलाई निर्देशन दिएका थिए । गोष्ठीको समापनपछि गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको प्रेस नोटमा गृहमन्त्रीले प्रदेश भित्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई मजबुत बनाउन र सरकारका प्रयासहरुलाई नागरिक सरोकारका विषयमा केन्द्रित गर्न मद्दत पुग्ने र दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा प्रवाह थप सहज बनाउन गोष्ठी महत्वपूर्ण कोशेढुंगा हुने विश्वास व्यक्त गरेको उल्लेख छ ।
सहसचिव भट्टराईका अनुसार गोष्ठीमा बागमती प्रदेशमा देखा परेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास सहजीकरण, विपद् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्यका विषयमा प्रस्तुतीकरण र छलफल भएका छन् । यस्तै राजश्व चुहावट नियन्त्रण, प्राकृतिक स्रोतको कानुनसम्मत उपयोग, सार्वजनिक र सरकारी जग्गाको संरक्षण लगायतका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ ।
सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललेनागरिकको हित अभिवृद्धि र सहज सेवा प्रवाहका लागि सबै तहका सरकारबिच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखेका थिए । उनले संघीयता कार्यान्वयन र यसको स्थायित्वका लागि यथाशीघ्र प्रहरी समायोजन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सुरक्षा निकायहरुलाई व्यवसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताएका थिए ।
मकवानपुर
प्रतिक्रिया