कांग्रेसले सहकारीको मुद्दा उठाउँदै १३ गते सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । आगामी जेठ १३ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी पीडितको मुद्दा उठाउँदै सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । योसँगै देशभरका सहकारी पीडितहरुका पक्षमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले उभिने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा सानेमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले लाखौँ सहकारी पीडितहरूको पक्षमा उभिने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले सहकारी पीडितको बचत फिर्ता नभएसम्म कांग्रेसले सडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय भएको बताए । त्यसका लागि कांग्रेसको काठमाडौं कमिटीले जेठ १३ गते विशाल प्रदर्शन गर्ने उनले बताए ।

‘देशभरि सहकारीका लाखौँ बचतकर्ताहरू पीडित भएका छन्, त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ, उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौँ’, प्रवक्ता महतले भने ।

त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा रहेकै कारण उनीविरुद्ध छानबिन हुन नसकेको कांग्रेसले ठहरले गरेको छ । सहकारीको झन्डै एक अर्ब रुपैयाँ गृहमन्त्री लामिछानेको गोरखा मिडियामा अपलचन भएको प्रवक्ता महतले बताए ।

कांग्रेसले संसदमा सभामुखले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ । प्रधानमन्त्रीले संसदबाट जबर्जस्ती विश्वासको मत लिएको र त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया