हेटौँडाका विद्यालयहरुमा शोक बिदा : कतै बन्द, कतै खुला !

हेटौँडा । विद्यालय कर्मचारीको निधनमा शोक बिदा दिने विषयमा शिक्षक महासंघ र हेटौँडा उपमहानगरपालिकाको कुरा बाझिँदा मंगलबार यहाँका अधिकांश विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

हेटौँडा उपमहानगरपालिका– ३ बसामाडीस्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा कार्यरत एक कर्मचारीको सोमबार निधन भएपछि शिक्षक महासंघ, हेटौँडा उपमहानगर समितिले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा मंगलबार एक दिन शोक बिदा गर्न आग्रह गरेको थियो ।

तर मंगलबार बिहान नगरप्रमुख मिना कुमारी लामाले कर्मचारीको निधनमा एक समवेदना सन्देश जारी गर्दै सम्बन्धित विद्यालय महेन्द्र किरण बाहेकका अन्य विद्यालयमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नियमित पठनपाठन गराउन अनुरोध गरेकी थिइन् ।

विद्यालयहरुमा शोक बिदा दिन आह्वान गरेको शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिका अध्यक्ष दिपक अधिकारीले यसलाई ‘मानवीय संवेदनासँग जोडिएको कुरा’ भन्दै विगतदेखि नै यो परिपाटी रहँदै आएको बताए । नगरप्रमुख लामाको अनुरोधसहितको सूचना सार्वजनिक भए पनि नगरका अधिकांश विद्यालयको पठनपाठन भने मंगलबार बन्द रह्यो ।

कतिपय विद्यालयका प्रधानाध्यापकहरुले नगरप्रमुखको सन्देशपछि पठनपाठन सन्चालन गर्ने मनशाय बनाए पनि विद्यार्थी अनुपस्थित भएका कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले सोमबार साँझ नै महासंघले शोक बिदा दिने निर्णय सार्वजनिक भैसकेकाले पनि विद्यार्थी अनुपस्थित रहेको बताए ।

विद्यालयको पठनपाठन जारी नै राखेको हेटौँडा– ५ स्थित बालज्योति माविका प्रधानाध्यापक भरत अर्यालले पेसागत संघसंगठन र पालिकाबीचको यस किसिमको अस्पष्टतालाई चिर्नुपर्ने बताए । विगतदेखि नै महासंघको आह्वानमा पालिकामा शोक बिदा हुने गरेको स्मरण गर्दै अर्यालले शोक बिदाका सम्बन्धमा सबै पक्ष नीतिगत रुपमा स्पष्ट हुनुपर्ने उल्लेख गरे ।

उपमहानगरपालिकाका शिक्षा निर्देशक सिताराम कोइरालाले कुनै एउटा विद्यालयका शिक्षक कर्मचारीको निधनमा नगरभरिका विद्यालयको पठनपाठन बन्द गर्ने परिपाटी राम्रो नभएको बताएका छन् ।

शिक्षक महासंघलगायतका पेसागत संघसंस्थाले विद्यालय बन्द गर्ने विषयमा निर्णय दिनु उचित नहुने भन्दै उनले भने, ‘हामी सम्बन्धित पक्षहरुसँग छलफल गरेर यस विषयमा नीतिगत रुपमै निर्णय गछौैँ, अबदेखि एउटा विद्यालयको शिक्षक कर्मचारीको निधनमा पालिकाभरिकै विद्यालयको पठनपाठन रोकिने छैन ।’

प्रतिक्रिया