गर्मी सुरु भएसँगै वीरगन्जमा रगत अभाव

पर्सा । गर्मीयाम सुरु भएसँगै वीरगन्जमा रगतको चरम अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा वीरगन्जमा सञ्चालित रक्तसंचार केन्द्रमा हाल रगतको अभाव देखिएको छ ।
बर्षेनी गर्मी महिना सुरु भएलगत्तै रक्त संचार केन्द्रमा रगतको अभाव हुदै आएको छ । यस वर्ष पनि गर्मी महिना सुरु भएदेखि नै रगतको अभाव देखिएको हो । नारायणी अस्पतालसहित वीरगन्जका विभिन्न अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेसंगै रगतको अभाव देखिन थालेको नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केद्र वीरगन्जका प्रमुख एवं प्राविधिक अधिकृत सौरभराज पाण्डेले जानकारी दिए ।

अहिले यहाका अस्पतालहरुमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएका छन । गम्भिर प्रकृतिका बिरामीको संख्या बढेसँगै रगतको माग बढेको छ । तर, पनि जसोतसो गरेर रगतको आपुर्ती गर्ने प्रयास भइरहेको प्राविधिक अधिकृत पाण्डेले जानकारी दिए ।

उनका अनुसार कम्तीमा दैनिक एक सय १० युनिट रगतको वीरगन्जमा माग रहेको छ । तर माग अनुसारको रगत उपलब्ध गराउन आफूहरुलाई सकस भएको उनले बताए । वातानुकृुलित कोठामा रक्तदान कार्यक्रम आयोजना गर्दा पनि ३० पोका रगत संकलन हुन सकेको समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

‘हामी रक्तदाता कुरेर बसेकाछौं,’ उनले भने, ‘रक्तदातालाई अप्ठेरो नहोस् भनेर वातानुकुलित कोठा र रक्तदान पछि आराम गर्ने पर्याप्त सुविधा पनि यही दिएकाछौं, तर अनुमान भन्दा कम रक्तदाता आएकाले खल्लो भएको छ ।’ प्रचण्डगर्मी भएकाले नियमित रक्तदाताहरु पनि रक्तदानगर्न हच्किएको उनको अनुभव छ ।

हाल केन्द्रमा एक पोका पनि रगत मौज्दात नरहेको केन्द्र प्रमुख पाण्डेको भनाइ छ । ‘हामी रगत माग्न आउने बिरामीका आफन्तलाई रगत शोधभर्ना गरेर मात्र दिन सकी रहेका छौं,’ उनले भने, ‘एक त गर्मी, त्यस माथि शोधभर्नाका लागि पनि बिरामीका आफन्त रगत दिन तयार नहुने प्रवृत्तिले झनै समस्या भएको छ ।’
अत्यधिक गर्मी भएकाले रक्तदान कार्यक्रम आयोजना हुनै छोडेकाले रगतको नियमित आपूर्ती बन्द भएर समस्या भएको उनले बताए ।
‘सामान्यअवस्थामा पनि तराईमा रक्तदान प्रति रुची नराख्ने प्रवृत्ति छ, त्यस माथि प्रचण्ड गर्मीका कारण नियमित रक्तदाताहरु पनि हच्कि रहेका छन्,’ उनले भने, ‘रगतको माग र आपूर्तीको तालमेल मिलाउनै हम्मे हम्मे परेको छ ।’

यस अघि जेठ २० गते बारा जीतपुरमा रास्वपाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २० र वीरगंजको विद्यापति नगरमा आयोजित अर्को रक्तदान कार्यक्रममा ५६ गरी १ सय ७६ पोका रगत संकलन भएपछि एउटा पनि रक्तदान कार्यक्रम नभएको पाण्डेले जानकारी दिए ।

अत्यधिक गर्मीको कारण रक्तदान कार्यक्रम आयोजना हुनै छाडेकाले केन्द्रले खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने संघ संस्थाहरुलाई एसी÷कुलरको सुविधा भएको वातानुकुलित कोठामा मात्र रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गर्ने गरेको उनले बताए ।

हाल वीरगंजमा बि पोजेटिव, एबिपोजेटिव, एपोजेटिव र ओ पोजेटिव समूहको रगतको माग अत्याधिक रहेको उनले जानकारी दिए । रगतको यसरी हाहाकार भएको बेला सामाजिक संघसंस्था तथा राजनीतिक दलका भातृ संगठन, पेशागत संघसंगठनहरु अग्रसर भएर रगत संकलन गर्ने अभियानमा जुटे केही राहत हुने पाण्डेको भनाई छ ।

‘रक्तदान जस्तो महान दानकुनै छैन,’उनले भने, ‘रक्तदान एउटा महान मानविय कार्य हो, यसले कसैको ज्यान बचाउछ भन्ने कुरो सबैले बुझिदिन जरुरी छ ।’ रगत अभावलाई टार्न केन्द्र सक्रिय रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया