धनगढीमाईका ३२ परिवार कुवाको पानी पिउन बाध्य

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१४ मा रहेको गागन टोल र मागन टोलका ३२ घर परिवार परम्परादेखि कुवाको दूषित पानी पिउन बाध्य छन् । त्यहाँ रहेका १ क्षेत्री, १ सुनुवार, १ राई, १ विश्वकर्मा, ३ तामाङ र २५ मगर समुदायका परिवारलाई यस्तो समस्या परेको हो ।

चैत र वैशाखमा कुवाको पानी सुकेपछि त्यहाँका स्थानीयलाई खोलानाला धाउनुपर्ने भएको हो । उक्त बस्तीमा खानेपानी समस्या भएको बारेमा जिल्लामा खानेपानी परियोजनामा काम गर्दै आएका कुनै पनि संघसंस्थाको हालसम्म ध्यानाकर्षण नभएको स्थानीयको गुनासो छ ।

त्यहाँ बस्तीको उत्तरतर्फको सलहेस फेदमा रसाउने जरुवालाई खनेर जम्मा भएको पानी नै स्थानीयको खानेपानी स्रोतको रूपमा प्रयोग हुँदै आएको छ ।

गाउँमा खानेपानीको चरम अभाव रहेको गागन बस्तीमा रहेको इनार सुक्न थालेपछि स्थानीयले पाल्दै आएको पशु लगायतलाई खानेपानी स्रोतको रूपमा प्रयोग गरिने कुवाबाट मानिस, पशु र वन्य जन्तुले पानी खाइरहेका छन् । चौपायालाई बस्तीमा खानेपानीको उपयुक्त व्यवस्थापन नहुँदा विवश भएर एउटै साझा कुवाबाट खानेपानी स्रोतको प्रयोग भइरहेको स्थानीयले बताए ।

खानेपानी शुद्धीकरण नगरी प्रयोग गर्दा स्थानीयमा विभिन्न प्रकारका रोग देखापर्ने सम्भावना देखिएको छ । धमिलो पानी पिउनाले बर्सेनि त्यहाँ बसोबास गरिरहेका घर परिवारलाई झाडापखाला, रुघाखोकी, पेट दुख्ने, आउँ पर्ने, टाइफाइटलगायत रोगबाट पीडित हुनुपरेको स्थानीय बताउँछन् । खानेपानीको बारम्बार माग गर्दा पनि कुनै सुनवाइ नभएको स्थानीयको गुनासो छ ।

जिल्लाको धनगढी बजारदेखि २६ किमी उत्तर पश्चिममा पर्ने गागन टोलमा बसोबास गर्ने २२ परिवार र मागन टोलका १० घरले वर्षौंदेखि लुगाकपडा धुने, खाना पकाउने, नुहाउने, गाईवस्तुलाई दिनसमेत खेतमा लगाउन कुलोमा ल्याइएको पानी पिउन बाध्य रहेको पत्रकार बिनोद मण्डलले बताए ।

उनले धनगढीमाई नगरपालिका–१४ को दुर्गम बस्तीको हालत अति नै समस्याग्रस्त रहेको भन्दै त्यहाँ परम्परादेखि बाटो घाटो, बिजुली, खानेपानी तथा आधारभूत आवश्यकताको कुनै पनि कुरा नरहेको बताए ।

एक स्थानीयले दुःखेसो पोख्दै भने, ‘विकट ठाउँ भएकाले न त कुनै सरकारी निकायबाट न त कुनै परियोजनाले पिउने पानीका लागि पहल गरेको छ’, उनले भने, ‘कुलो सुकेपछि खोलाको पानी प्रयोग गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया