वीरगञ्जका विद्यालयहरुमा ट्राफिक सचेतना कार्यक्रम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका स्कुलमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम भएको छ । जिल्ला ट्रापिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगञ्ज अभियानले संयुक्त रुपमा सचेतना कार्यक्रमको आयोजना गरेका हुन् ।

डिएभी आरबी केडिया स्कुलका प्रधानाध्यापक राकेश मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए । उनका अनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । सोही कार्यक्रमकै निरन्तरता स्वरुप डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीको भनाई रहेको छ ।

वीरगञ्जका सबै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जसअनुरुप हरेक विद्यालयमा ट्राफिक सचेतनासम्बन्धी सन्देशसँगै ट्राफिक चिन्ह समावेश गरिएको बोर्ड विद्यालय परिसरमा राखिनेछ । यसबाट विद्यार्थीहरुले ट्राफिक नियमका बारेमा जानकारी पाउने उनको विश्वास छ ।

स्कुलका प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी दिए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई छ ।

ट्राफिक सचेतना कार्यक्रममा सहभागी कक्षा १०, ११ र १२ मा अध्ययनरत एक सय जना विद्यार्थीले ट्राफिक नियमको पालना गर्ने र गराउने अठोट गरेका हुन् । आफ्नो अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि विद्यार्थीहरुले व्यक्त गरेको विद्यालयका शिक्षक प्रकाश कर्णले जानकारी दिए ।

प्रतिक्रिया