जनकपुरधाम । जनकपुरमा सञ्चालनमा रहेको चर्चित डाक्टर वृजमोहन रजकको नैना हस्पिटलमा पहिलोपटक दुरबिन माध्यमबाट महिलाको अप्रेसन गरिने भएको छ । रामानन्दचोमा रहेको नैना हस्पिटलमा हुने दुरबिन प्रविधि जनकपुरमै पहिलोपटक स्थापित हुने बताइएको छ । आइतबार जनकपुरको नैना हस्पिटल आएका दिग्गज डाक्टरले दुरबिन प्रयोगबाट महिलाको अप्रेसन गर्दा खतरा एकदमै न्यून हुने दाबी गरेका छन् ।
पेटमा बच्चा हुँदा डेलेभरीको समयमा अप्रेसन गर्दा बिनादुरबिन प्रयोग प्रविधिले खतरा रहँदै आएकोमा दुरबिन प्रविधिबाट अप्रेसन हुन थालेपछि ससाना भागहरू प्रष्ट रूपमा देखिने बताइएको छ । यसले अप्रेसनको बेला आवश्यक बाहेकका अन्य अंग काटिने खतरा न्यून हुने बताइएको छ ।
नैना हस्पिटल प्रालिका प्रमुख डा.बृजमोहन रजकको अध्यक्षतामा भएको कार्यक्रममा दुरबिन प्रयोग र यसको फाइदाका बारेमा प्रष्ट पारिएको थियो । दुरबिनको प्रयोगबिना अप्रेसन गर्दा शरीरको धेरै भाग चिर्नुपर्ने हुँदा बिरामीलाई ठिक हुन समय लाग्ने तर दुर्बिनको प्रयोग हुँदा शल्यक्रिया गर्न सजिलो हुने हस्पिटलका प्रमुख रजकले बताए । कार्यक्रममा बोल्दै डा.रजकले आर्थिक रूपले विपन्न व्यक्तिको निम्ति विशेष लाभदायिक होस् भन्ने उद्देश्यले आफूले चाहेको यस्तो प्रविधि अस्पतालले प्रयोगमा ल्याएको बताए ।
ल्याप्रोस्कोपीकोबाट पनि शल्यक्रिया गर्न सकिन्छ भन्ने आममानिसमा जानकारी नभएको अवस्थामा यस किसिमको कार्यक्रमले विशेष राहत प्रदान गर्ने डा.रजकले विश्वास दिलाए ।
कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित प्रादेशिक अस्पताल जनकपुरका मेसु डा.रामनरेश पण्डितले जनकपुरका लागि यस्तो प्रविधि प्रयोग हुनु गौरवको विषय भएको बताए । ल्याप्रोस्कोपीको माध्यमबाट अधिक बिरामीले उपचार गर्दा खर्च कम र जोखिमसमेत कम हुने उनको तर्क थियो । कार्यक्रममा जनकपुरधामका स्त्री रोग विशेषज्ञ चिकित्सक आरएन झा लगाएतका चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार र स्वास्थ्य सरोकारबालाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया