हेटौँडा । युवामा लगानी नभई देश समृद्ध हुन नसक्ने निष्कर्ष निकाल्दै तीन दिने बागमती प्रदेश युवा सम्मेलन हेटौँडामा सम्पन्न भएको छ । आगामी आर्थिक वर्षलाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने बागमती प्रदेश सरकारको योजनाको तयारीका रुपमा समेत हेरिएको सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार समापन गरिएको हो ।
नेपालमा जनसांख्यिक लाभका रुपमा रहेका युवाहरुको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसर भएको उल्लेख गर्दै सम्मेलनले युवाहरुका लागि देशमै दिगो र प्रभावकारी संभावनाहरुको खोजी गर्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मेलनमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले युवाशक्तिले तत्कालै निराश भैहाल्नुपर्ने अवस्था नरहेको बताए ।
शुक्रबारदेखि सुरु भएको सम्मेलनको अन्तिम सत्रमा मुख्यमन्त्रीसँग युवा कार्यक्रममा सहभागीहरुका जिज्ञासाको जवाफ दिँदै जमकट्टेलले वर्तमान राजनीतिले युवाहरुलाई भविष्यप्रति सुनिश्चित गराउन सक्ने अवस्था नरहेको स्वीकार गरे ।
आक्रोशमा आएर सबै कुराको विरोध मात्रै भइरहेको भन्दै उनले भने, ‘विरोधै पनि गर्नुस्, नराम्रा कामहरुको आलोचना गर्नुस् । तर सरकारले केही त राम्रा काम गरिरहेको छ; त्यसको प्रशंसा पनि गरिदिनुस् ।’
२०८१ साललाई बागमती प्रदेश सरकारले युवा सीप वर्ष घोषणा गर्ने चरणमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री जमकट्टेलले यस अन्तरगत १५ हजारभन्दा बढी युवालाई उद्यमशील तालिममा सहभागी गराउने लक्ष्य लिइएको बताए ।
विभिन्न वित्तीय संस्थामार्फत युवा उद्यमशीलता कार्यक्रमका लागि सरकारले बजेट छुट्याए पनि बैंकहरुले त्यसलाई प्राथमिकतामा नराखेको भन्दै उनले बागमती प्रदेश सरकारले आफ्नै बैंक स्थापना गर्ने तयारीमा रहेको समेत बताएका छन् ।
सम्मेलनको घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाहरुमा स्वरोजगारी र उद्यमशिलता प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले गरेको सीप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए
तीन दिनसम्म चलेको प्रदेश युवा सम्मेलनमा बागमती प्रदेशका १३ वटा जिल्लाका १६ देखि ३० वर्ष उमेर समूहका २ सयभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । सम्मेलनमा युवालक्षित अन्तरक्रिया, बहस, कार्यशाला तथा नेतृत्व विकाससम्बन्धि क्रियाकलापहरु आयोजना गरिएका थिए ।
मकवानपुर
प्रतिक्रिया