नेपालको एक मात्र रेल सेवा

आजभन्दा ९७ वर्षअघि नै सन् १९२७ मा चन्द्र शमशेरका पालामा नेपालमा पहिलोपटक रेल सञ्चालनमा आएको थियो । प्रथम विश्वयुद्धमा बेलायतलाई सैन्य सहायता उपलब्ध गराएबापत युद्ध सकिएपछि बेलायतले नेपाललाई एकमुष्ठ २१ लाख रुपैयाँ प्रदान गरेको थियो । त्यो रकमलाई भने प्रधानमन्त्री चन्द्र शमशेरले अन्यत्र कतै खर्च नगरी विकास निर्माणमा नै लगाए । त्यही रकमबाट त्यतिबेला रक्सौल–अमलेखगन्ज रेल सञ्चालनमा ल्याइएको थियो ।

जनकपुरधाम । जनकपुरधाम—जयनगर रेलवे नेपालको एक मात्र रेल सेवा हो । देशकै गौरवको रूपमा चिनिएको यो रेल सेवाबाट दिनहुँ हजारौँ नेपाली नागरिक लाभान्वित भएका छन् । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म जोड्ने भएकाले नेपाली नागरिक मात्र नभई भारतका नागरिक समेतले यस रेल सेवाबाट लाभ लिइरहेका छन् ।

अहिले जनकपुरधाम (कुर्था) देखि जयनगरसम्म २ सिफ्ट र कुर्थादेखि महोत्तरीको भंगाहासम्म १ सिफ्टमा सञ्चालन हुँदै आएको यो रेल दैनिक करिब ३ हजारभन्दा बढी मानिसको आवतजावतको प्रमुख साधन बनेको छ । १ दर्जनभन्दा बढी गाउँका मानिसहरू जनकपुरधामबाट भारतको जयनगरसम्म ओहोरदोहोर गर्दै आएका छन् ।

लामो समयदेखि बन्द रहेको रेल सेवा नेपाल सरकारले आफैँ रेल खरिद गरेपछि २०७८ चैतदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । सुरुमा जयनगर–कुर्थासम्म मात्र सञ्चालन हुने रेल पछिल्लो १ वर्षदेखि महोत्तरीको भंगहासम्म सञ्चालन हुने गरेको छ ।

रेलवे सेवाले जनकपुरधाममा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । दैनिक दुईपटक जयनगर–जनकपुरधामसम्म ओहोदोहोर गर्ने यो रेलमा एकपटकमा ५०० भन्दा बढी भारतीय पर्यटक आउने गरेका छन् । भारतको बिहार मात्र नभई उत्तर प्रदेश, गुजरात, राजस्थान, उत्तराखण्ड, मध्य प्रदेश, दक्षिण भारतका चेन्नई, तालिमनाडुसहितका राज्यहरूबाट उल्लेखनीय संख्यामा पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्न जनकपुरधाम आउने गरेको तथ्यांक छ ।

नेपालमा रेलको इतिहास

नेपालमा रेलको इतिहास करिब १०० वर्षको छ । आजभन्दा ९७ वर्षअघि नै सन् १९२७ मा चन्द्र शमशेरका पालामा नेपालमा पहिलोपटक रेल सञ्चालनमा आएको थियो । प्रथम विश्वयुद्धमा बेलायतलाई सैन्य सहायता उपलब्ध गराएबापत युद्ध सकिएपछि बेलायतले नेपाललाई एकमुष्ठ २१ लाख रुपैयाँ प्रदान गरेको थियो । बेलायत सरकारबाट प्राप्त त्यो रकमलाई भने प्रधानमन्त्री चन्द्र शमशेरले अन्यत्र कतै खर्च नगरी विकास निर्माणमा नै लगाए । त्यही रकमबाट त्यतिबेला रक्सौल–अमलेखगन्ज रेल सञ्चालनमा ल्याइएको थियो । कोलकातामा अवस्थित मार्टिन एन्ड कम्पनीले बनाएको रेल नेपाल भित्र्याइएको हो । जसको नाम नेपाल गभर्मेन्ट रेलवे राखिएको थियो ।

यात्रुवाहक भनिए पनि काठ सहितका मालसामान ढुवानीको प्रयोगमा मात्र ल्याइयो । त्यो रेल ७६२ एमएम न्यारो गेजको वाष्प (स्टिम) इन्जिनबाट सञ्चालन हुने खालको थियो ।

उक्त रेल तत्कालीन ब्रिटिस भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म २४ माइल (करिब ३९ किलोमिटर) लामो दुरीमा सञ्चालन भएको थियो । ब्रिटिस भारतको बंगाल—नागपुर रेलवे रक्सौलसम्म थियो । त्यस्तै, नेपालको रेलवे रक्सौलबाट जोडिएकाले नेपाल भारतको अन्तर्राष्ट्रिय रेलमार्गसम्म जोडिएको थियो । अमलेखगन्जमा पहिले घनाजंगल थियो । रेलवे निर्माण गर्दा जंगल फडानी गरी स्टेसन निर्माण गरिएको थियो ।

सन् १९२७ मा पहिलो रेलवे सञ्चालनमा आएको एक दशकपछि जुद्ध शमशेरको पालामा सन् १९३७ मा दोस्रो रेलवे सञ्चालनमा आयो । दोस्रो रेलवे भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म थियो । नेपालको पहिलो रेल सन् १९६५ सम्म चलेको थियो ।

तत्कालीन समयमा त्यसको निर्माणमा अंग्रेजको जेसुकै स्वार्थले भएको भए पनि भारतीयले भने अब सहज रूपमा जनकपुरसम्मको यात्रा गरी जानकी मन्दिरको दर्शन गर्न अवसर पाउन थाले । त्यतिबेला वर्षको दुईपटक भारतीय तीर्थयात्रीहरू नेपाल आउने गर्थे, एकपटक शिवरात्री र अर्कोपटक विवाह पञ्चमीको समयमा ।

जनकपुर–विजलापुर २२ किलोमिटरको रेलवे ट्रयाक र दुई वटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको थियो । लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गरिएको यो रेलसेवा तेस्रोपटकको हो ।

नेपालमा रेलमार्ग निर्माण गर्ने पछिल्लो योजना आर्थिक वर्ष २०६६–०६७ बाटै सुरु भएको हो । रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना ग¥यो । विभाग गठन भएकोे केही वर्षपछि सरकारले नेपाल रेल कम्पनी स्थापना गर्यो । अहिले कम्पनीमार्फत नै रेल सञ्चालनमा रहेको छ ।

घाटामै सञ्चालन

दैनिक हजारौँ यात्रुले भरिभराउ अवस्थामा सञ्चालन हुँदै आए पनि नेपाल रेलवे घाटामै सञ्चालन भइरहेको छ । जनयनगर– जनकपुरधाम हुँदै भंगहासम्म रेल सेवा सञ्चालनमा मासिक ५४ लाख घाटा हुँदै आएको छ ।
नेपाल रेलवे कम्पनीका अनुसार एक वर्षअघिसम्म कम्पनीलाई मासिक ६९ लाख घाटो थियो । नेपाल रेलवे कम्पनी लिमिटेड र भारतीय रेल कम्पनी कोकोन रेलवे कर्पोरेसनबीच २०२२ डिसेम्बरमा भएको नयाँ सम्झौता अनुरूप भारतीय कर्मचारीको संख्यामा कटौती गरेपछि नेपाल रेलवेको मासिक १५ लाख रुपैयाँ खर्च घटेपछि घाटा कम हुन गएको हो ।

नेपाल रेलवे कम्पनीले सेवा सञ्चालनका लागि १०३ जना नेपाली कर्मचारी दैनिक ज्यालादारीमा राखेको छ । नेपाल रेलवेका अनुसार गेट म्यान, कि म्यान, टिटी, पोइन्ट म्यान, टिकट सेलर, कार्यालय सहयोगीसहित १०३ जना कर्मचारीको तलबमा मात्रै महिनाको १७ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

भारतीय कर्मचारी २६ बाट १८ मा झारेपछि तलबमा मात्रै मासिक ३० लाख भारु अर्थात् ४८ लाख नेपाली रुपैयाँ खर्च हुँदै आएकोमा अहिले मासिक ३३ लाख रुपैयाँमा झरेको छ । यसबाहेक रेलको इन्धन, दैनिक वासिङ, मर्मत सम्भार, प्रशासनिकलगायतमा रेलवेले मासिक ७९ लाख खर्च गर्दै आएको छ । रेल सञ्चालन गर्न मासिक १ करोड २९ लाख रुपैयाँ खर्च हुने गरेको नेपाल रेलवेले जनाएको छ । तर, मासिक औसत ७५ लाख मात्रै आम्दानी भइरहेको छ ।

गत २ असोज २०७७ मा भारतबाट ८४ करोड रुपैयाँमा किनेका दुई वटा रेल १९ महिनासम्म थन्क्याउँदा झण्डै ३ करोड नोक्सान भएको थियो । यस हिसाबले नेपाल रेलवे अहिलेसम्म १३ करोड ८० लाख घाटामा रहेको देखिन्छ ।


घाटा सहेर पनि रेलको पहिचान जोगाउन सञ्चालन गर्दै आएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झा बताउँछन् । ‘जनकपुरधाम जयनगर रेलवे यहाँको पहिचान मात्र नभई देशकै इतिहास बोकेको छ । इतिहास र पहिचान जोगाउन व्ययभार थपिए पनि सरकारले सञ्चालन गर्दै आएको हो ।’ उनी थप्छन्, ‘यात्रु बोकेर मात्रै रेलवे फाइदा हुन सक्ने अवस्था छैन । कार्गो (मालवाहक) रेल सञ्चालनमा नआएसम्म घाटा बेहोर्नु नै पर्छ ।’ अहिले भारतीय कर्मचारीहरू राखेकोमा दक्ष कर्मचारी नेपालकै भए २० प्रतिशतसम्म खर्च घटाउन सकिने झाले बताए । त्यसका लागि कर्मचारीलाई भारतबाट तालिम दिलाउन जरुरी रहेको महाप्रबन्धक झाको भनाइ छ ।

प्रतिक्रिया