रौतहट । रौतहटमा राजदेवी नगरपालिका १६औँ पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । रौतहट जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियानअन्तर्गत शनिबार पूर्ण खोपको सम्पूर्ण मापदण्ड पूरा गरेको राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष एवम् जिल्ला खोप समन्वय समितिका संयोजक राम अयोध्या यादवको प्रमुख आतिथ्य तथा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसाद यादवको सभापतित्वमा आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई पाउनुपर्ने खोप सुनिश्चितता भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ ।
राजदेवी नगरपालिकाले आयोजना गरेको घोषणा कार्यक्रममा सम्बोधन गर्दै समन्वय समितिका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य मानबको लागि नभई नहुने आधारभूत आवश्यकता रहेको बताए । शिक्षा नभए जीवन अधुरो र स्वास्थ्य राम्रो नभए जीवन सकिने भएकाले दुवै अपरिहार्य भएकाले शिक्षा र स्वास्थ्यको सुधार गर्नुुपर्नेमा उनले जोड दिए ।
उनले खानपिन पौष्टिक आहारयुक्त नभएका कारण विभिन्न रोगको शिकार हुने भएकाले स्वास्थ्य जीवनको लागि मंसाहरी भोजनभन्दा साकाहारी भोजन गर्न उपयुक्त हुने सुझाव दिए । अध्यक्ष यादवले जन्म लिने बच्चाका स्वास्थ्यको ख्याल गर्दै समयमा खोप लगाउन नबिर्सन अपिल गर्दै गाउँघरमा कुनै खोपको दिगोपनाको लागि खोपको निरन्तरता दिन स्वस्थ्यकर्मीलाई निर्देशन समेत दिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अनिल कर्णले १३ वटा रोगविरुद्धको लागि १३ खोप अनिवार्य रहेको बताए । उनले १८ स्थानीय तहमध्ये १६ पालिका पूर्ण खोप पालिकाको रुपमा घोषणा भइसकेकाले अब जिल्ला नै छिटै पूर्ण खोप घोषणा हुने बताए ।
प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियानमा दिनरात खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालाई धन्यबाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै अघि बढ्न आग्रह गरे ।
नगरप्रमुख भिखारी यादवले पूर्ण खोप अभियानमा सक्रिय भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकालाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई सफल बनाउन आग्रह गरे । कार्यक्रममा वडाध्यक्ष विजय शंकर यादव, महेन्द्र दास, विश्वनाथ साह, सुरेश पण्डित, सशस्त्र प्रहरी निरिक्षक सुभाष खत्रीललगायतले आ–आफ्ना भनाई राखेका थिए ।
रौतहट
प्रतिक्रिया