बोलपत्रबाट काम गर्दा जीतपुरसिमराले गर्यो झण्डै २२ करोड बचत

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बोलपत्रबाट काम गर्दा झण्डै २२ करोड रकम बचत गरेको छ । ४३ वटा बोलपत्र आव्हान गर्दा ३५ दशमलव २४ प्रतिशत रकम बचत गरेको उपमहानगरले जनाएको छ ।

उपमहानगरले चालु आर्थिक वर्ष २०८०÷८१ मा ४३ वटा बोलपत्र आव्हान गर्दा कुल लागत अनुमानको ३५.२४ प्रतिशत रकम बचत गरेको हो । यसरी माध्यमबाट बोलपत्र आवहान गर्दा रकम रु २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैयाँ बचत भएको उपमहानगरपालिकाका इन्जिनियर अभायकान्त झाले बताए ।

आव २०८०/८१ मा विद्युतीय माध्यमबाट विभिन्न ४३ वटा शीर्षकमा रु ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ (कन्टिन्जेन्सी बाहेक) लागत अनुमान शिलबन्दी बोलपत्र आवहान गरिएकोमा जम्मा कबुल रकम रु ४० करोड २० लाख ८२ हजार ६ सय ५१(मुअकसहित) मा सम्झौता गरिएको झाले बताए । उनकाअनुसार शिलबन्दी दरभाउ पत्रमा ८ वटा शीर्षकमा रु १ करोड ३४ लाख ३० हजार ४ सय ४३ (कन्टिन्जेन्सीबाहेक) लागत अनुमान रहेकोमा जम्मा रु १ करोड १ लाख ४७ हजार ९ सय ५८ मा सम्झौता भएको छ ।

यसरी विद्युतीय माध्यमबाट बोलपत्र आव्हान गर्दा प्रोफेसनल निर्माण व्यवसायीले काम पाएको र पैसा चलायमान भएको इन्जिनियर अभायकान्त झाको दाबी छ । ‘यसले रोजगारी श्रृजना गरेको र सरकारलाई कर समेत आएको देखिन्छ ।’ उनले भने, ‘यसरी ठेक्कामार्फत काम हँुदा कामको गुणस्तर राम्रो हुने र त्यस्ता कामहरुको मर्मत सम्भारको जिम्मा पनि सम्बन्धित निर्माण कम्पनीलाई नै रहने भएकोले दीर्घकालिन रुपमा यसको प्रभाव राम्रो हुनेछ ।’

धेरैजसो स्थानीय तहहरुले बोलपत्र आव्हान नगरी उपभोक्ता समितिमार्फत गर्दै आएका छन् । उपभोक्ता समितिमार्फत काम गराउँदा कार्यालयकै दरमा गराउनु पर्ने काम पनि गुणस्तरीय नहुने समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया