बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्न माग

काठमाडौँ । बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्नुपर्ने भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार एक कार्यक्रम गर्दै बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्नुपर्ने भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यातायात व्यवसायीहरूले गत वैशाख ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको २१ सूत्रीय र बिहीबार सार्वजनिक गरिएको १५ सूत्रीय माग सम्बोधन गर्नुपर्ने नेपाल राष्ट्रिय यातायात सेवा प्रालिका कार्यकारी अध्यक्ष होमप्रसाद अधिकारीले बताए । सार्वजनिक यातायात क्षेत्र धेरै संकटमा रहेको उनले बताए । उनले उक्त संकटबाट यातायात क्षेत्रलाई बाहिर निकाल्न सरकारले आफूहरूको माग सम्बोधन गर्नुको विकल्प नरहेको बताए ।

‘वैशाख ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य सरोकारवाला मन्त्रालयमा पेस गरेको यातायात क्षेत्रको विकास सुधार र संरक्षण तथा प्रदूषणरहित विद्युतीय यातायात सञ्चालनबारे प्रस्तुत भएका २१ सूत्रीय मागहरू २०८१÷०८२ को बजेटमार्फत समाधान गर्न सुझाव पत्र पेस गरेका थियौँ । उक्त सुझावहरू आगामी दिनमा सम्बोधन गर्न जोडदार रूपमा माग गर्दछौँ’, उनले भने ।


विगतका नाकाबन्दी, जनआन्दोलनका क्रममा भएको नेपाल बन्द, चक्काजाम, भूकम्प, कोरोना महामारीका कारण सार्वजनिक यातायात क्षेत्र संकटमा रहेको उनको भनाइ छ । विभिन्न कारणले व्यवसायमा घाटा हुँदा बैंकको साँवा, ब्याज तिर्न नसक्दा धेरै व्यवसायीहरूको घरखेत लिलामी भएको स्मरण गराए । साँवा व्याज तिर्न नसक्दा कति व्यवसायीले आत्महत्या पनि गरेका र यातायात क्षेत्रमा काम गर्ने सवारी चालक, परिचालकहरू विदेश पलायन भएको बताए । उक्त मागप्रति सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक ढुवानी व्यवसायी महासंघ, संयुक्त ट्रेड युनियन महासंघ नेपाल, नेपाल पर्यटन व्यवसायी महासंघ, अरनिको यातायात सेवा समिति, ट्याक्सी व्यवसायी संघलगायतको ऐक्यबद्धता रहेको बताइएको छ ।

प्रतिक्रिया