ठोरीमा जंगल सफारी सुरु, केही दिनमा कानुनी प्रक्रिया पूरा हुने

पर्सा । ठोरीमा जंगल सफारी आजबाट सुरु गरिएको छ । ठोरी गाउँपालिका – २ मा रहेको जंगल रिसोर्टबाट आज जंगल सफरीको शुभारम्भ गरिएको हो । ठोरी गाउँपालिका– २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा निर्मल ठोरी मध्यवर्ती समितिका अध्यक्ष बालकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले जंगल सफारी परीक्षण सफल गरेको छ ।

जंगल रिसोर्टबाट सुरु भएको सफारी इच्छानगर हुँदै सिकारीवास, बुद्धनगरबाट हुलाकी मार्ग हुँदै जंगल रिसोर्ट ठोरीमा आएर सम्पन्न भएको थियो । आज परीक्षणको रुपमा सञ्चालन भएको र केही दिनभित्र कानुनी प्रक्रिया मिलाई नियमित रुपमा सफरी सुरु गरिने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

सो जंगल सफारीलाई सञ्चालन गर्न रोड मर्मतका लागि समितिबाट रु ८ लाख खर्च गरी कार्य सम्पन्न समेत गरेको अध्यक्ष बस्नेतले बताए । जंगल सफारीले ठोरी क्षेत्रमा पर्यटन विकासमा नयाँ आयाम थप्ने, ठोरीको पर्यापर्यटनका लागि थप आकर्षक हुने ठोरी– २ का वडाध्यक्ष सापकोटाले विश्वास व्यक्त गरे ।

भारतीयहरु र वीरगञ्जलगायत अन्य स्थानहरुबाट आउने पाहुनाहरुका लागि जंगल सफारी अत्यन्त प्रभावकारी हुने र ठोरीका जंगलभित्र तथा बाहिरका बस्तीहरु समेत यसको प्रत्यक्ष लाभान्वित हुने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले आशा व्यक्र गरे ।

आजको शुभआरम्भ कार्यक्रममा अध्यक्ष बालकुमार बस्नेतको नेतृत्वमा ठोरी–२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, निर्मल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चिनवहादुर श्रेष्ठ, नेकपा एमाले ठोरीका सचिव जोगैन्द्र पौडेल, अमृतधारा होमस्टेका अध्यक्ष यादवराज कुवँर, ठोरी जंगल रिसोर्टका सन्चालक धीरसिंह घिमिरे, रेन्जर दिनेश यादवलगायतको जंगल सफारीमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया