पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी

वीरगञ्ज । पर्सामा ग्रामीण कृषि क्षेत्रमा आगलागीका घटना घटे पनि वनजंगल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला जिल्लाभित्र रहेका वनक्षेत्र सुरक्षित देखिएको हो ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनीलकुमार कर्णले पर्सामा यो याममा ठूलो प्रकृतिको डढेलो नलागेको बताए । ‘यो सिजनमा पर्सामा डढेलो लागेर वनजंगलमा काठ–दाउरामा ठूलो नोक्सानी भएको छैन तर कृषिउपज क्षेत्रमा भने आगलागीको समस्या देखिएको थियो,’ उनले भने, ‘सुरुआती चरणदेखि वनजंगलमा हुन सक्ने डढेलोको विषयमा सतर्कता र सावधानी अपनाउन भनेकाले पनि अहिलेसम्म यहाँको वनमा आगलागी भएको छैन ।’

पर्सामा चालु आर्थिक वर्षको करिब १० महिनामा आगलागीले ६ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा चालु आवको वैशाख २१ गतेसम्म ५ करोड ७२ लाख बराबरको धनसम्पत्ति नष्ट भएको हो । पर्सामा गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ लाख ८४ लाख बराबरको क्षति भएको थियो । आगोले यहाँका १५ किसानको गहुँ, अन्नबाली, पराल, कुखुरा फर्म र फुसको घरलगायतमा क्षति पु¥याउँदा १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।

गत वैशाख ११ गते वीरगञ्ज महानगरका–१७ का महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार ‘सट’ भएर सुरु भएको आगलागीले सोही ठाउँका ७ जनाको फुसका घरसहित अन्नपात, सुनचाँदी र पशुचौपाया जल्दा ५३ लाख ९० हजार बराबरको क्षति भएको थियो । ‘अन्य जिल्लामा जस्तो पर्सामा वन क्षेत्रमा डढेलो लागेको छैन’, वन अधिकृत कर्णले भने ।

उनले जिल्लाका ६ वटा सबडिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि वनमा आगो लगाउने काम नभएको हुनसक्ने बताए । ‘विगतमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरीसिकारी गर्नेले आगो लगाएर चोरीसिकारी गर्ने प्रवृत्ति थियो,’ उनले भने, ‘यसपाली सावधानी अपनाएकाले आगजनीको घटना हुन पाएको छैन तर अझै सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

यद्यपि पर्साका एकाध वनमा डढेलो सुरु हुन खोजे पनि तुरुन्तै निभाइएका थिए । जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । पर्साको क्षेत्रफल १ लाख ४० हजार ४ सय ३४ हेक्टर छ । जसमध्ये ८ दशमलव २३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । डिभिजन वन कार्यालय मातहत ११ हजार ४ सय ५१ दशमलव २८ हेक्टर वन क्षेत्र पर्दछ । यो तथ्यांकमा निकुञ्ज क्षेत्र भने समावेश गरिएको छैन ।

प्रतिक्रिया