जापानी विदेशमन्त्री खामिखावाले वसन्तपुर क्षेत्र पुगेर बुद्धको मूर्ति खरिद गरिन्

काठमाडौं । आज नेपाल आएकी जापानी विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।

उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरेकी छन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने छन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।– रासस

प्रतिक्रिया