आगलागी पीडितलाई संघीय सरकारले राहत दिने

सर्लाही । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले सर्लाहीको बिष्णु गाउँपालिका १ बाराउद्योरणका आगलागी पीडितका लागि तत्काल ५० हजार राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेका छन । शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताए । पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने प्रचण्डले विश्वास व्यक्त गरे ।

मिटरब्याजपीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी आगामी आवको नीति तथा कार्यक्रममा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने बताए ।

प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई टीका लगाइ गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

त्यससअघि उनले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमूना माविको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया