बजेटविहीन मधेसको संस्कृति मन्त्रालय

जनकपुरधाम । मधेसको शिक्षा तथा संस्कृति मन्त्रालय बजेटविहीन भएको छ । मधेस सरकारले हतारहतारमा मन्त्रालय विभाजन गरे पनि मन्त्रालयमा बजेट नदिँदा मन्त्रालय बजेटविहीन भएको हो । मधेसको शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।

बजेट नहुँदा संस्कृति मन्त्रालय तर्फको कुनै पनि काम अघि बढ्न सकेको छैन । ‘संस्कृतितर्फ बजेट नै छैन । त्यसैले त्यस तर्फको कुनै काम हुन सकेको छैन’, कार्यकारी सचिव महतोले भने, ‘शिक्षा मन्त्रालयतर्फ मात्र काम भइरहेको छ ।’ उनले अब आगामी आर्थिक वर्षमा संस्कृति मन्त्रालयतर्फ पनि बजेट विनियोजन हुने बताए ।
गत असोज तेस्रो साता मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका थिए ।

तत्कालीन जनमतका महेश प्रसाद यादवले सम्हालेका शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर तत्कालीन विनाविभागीय मन्त्री जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी एमालेका प्रमोद जयसवालले सम्हालेका छन् ।

प्रतिक्रिया