पहिचानको राजनीति सुनौलो दिशातर्फ बढेको छ : थेगिम

इलाम । इलाम–२ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पराजित पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमले भर्खरै सम्पन्न उपनिर्वाचनमा पाएको जनमतले पहिचानको राजनीति सुनौलो दिशातर्फ अगाडि बढेको बताएका छन् ।

बिहीबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी थेगिमले उपनिर्वाचनमा आफूलाई प्राप्त जनमतले पहिचानको आन्दोलनलाई थप सशक्त बनाएको बताए । ‘निर्वाचनको अंकगणितमा हामी पराजित भयौँ, तर राजनीतिक र नैतिक रूपमा हामीले जितेका छौँ’, थेगिमले भने, ‘यो विशेष परिस्थितिमा हामीले पाएको मतले पहिचानको आन्दोलनलाई थप सशक्त बनाएको छ ।’

उनले जनताको जनलहर हुँदाहुँदै सत्ता, शक्ति र स्रोतलाई नियन्त्रण गरिरहेका पहिचान विरोधी दलहरूको अघोषित सेटिङले जनअपेक्षित परिणाम हासिल गर्न नसकिएको जिकिर गरे । ‘जनलहर हाम्रो पक्षमा हुँदाहुँदै पनि विभिन्न कारणले जनअपेक्षित परिणाम हासिल गर्न सकिएन’, उनले भने, ‘तथापि हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पुँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ ।’

उनले उपनिर्वाचनमा प्राप्त जनमतले सामाजिक–राजनीतिक सामूहिक मोर्चामार्फत परिणाममुखी पहिचानको राजनीतिका लागि स्पष्ट राजनीतिक सन्देश दिएको बताए । निर्वाचन परिचालन समितिका संयोजक रामभक्त कुरुम्बाङले निर्वाचनलाई उपयोग गर्ने नीति बमोजिम पहिचान, संघीयता, समान अधिकार, शान्ति र दिगो विकासको नारासहित उपनिर्वाचनमा गएको र प्राप्त मतले उत्साहित बनाएको बताए ।

‘हामीले डकेन्द्र जीलाई पहिचानको आन्दोलनको प्रतिनिधिको रूपमा उम्मेद्वार बनाएका थियौँ, जेजति मत प्राप्त भएको छ, त्यसले हामीलाई उत्साहित बनाएको छ’, उनले भने, ‘हाम्रो पहिचानको आन्दोलन संवैधानिक अधिकार भएकाले जबसम्म पूरा हुँदैन, तबसम्म आन्दोलन चलिरहन्छ ।’

प्रदेश नामाकरणप्रति असन्तुष्टि जनाउँदै कोसीमा आन्दोलनरत समूह ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले १५ वैशाखमा सम्पन्न उपनिर्वाचनमा संघर्ष समितिको तर्फबाट थेगिमलाई स्वतन्त्र उम्मेद्वार बनाएको थियो । थेगिमले ११ हजार ४४७ मतका साथ तेस्रो स्थान हासिल गरेका थिए । उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङले २७ हजार ७७२ मत पाउँदै विजयी बनेका छन् ।

प्रतिक्रिया