सर्लाहीको बाराउद्योरण गाउँमा आगलागीबाट ७० भन्दा बढी घर जले

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउद्योरण गाउँमा आगलागी हुँदा ६६ वटाभन्दा बढी घर जलेका छन् । बिहीबार दिउँसो स्थानीय शत्रुधन राउतको घरबाट सल्किएको आगोले ६६ वटा घर जलेका हुन् ।
राउतको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले करिब ६६ घर जलेका सोही वडाका वडाध्यक्ष विकाउ ठाकुरले बताए । आगलागीका क्रममा ७ वटा सिलिन्डर पड्किएका थिए ।

गाउँभन्दा केही पर रहेको प्रभु राउत र हरि राउतको घरबाहेक गाउँ पूरै सखाप भएको स्थानीय अजितकुमार सिंहले बताए । नगर प्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि १०० भन्दा बढी घरमा क्षति पुगेको बताए । उनले आगलागीबाट भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको जनाए ।

बिहीबार साँझ मात्रै आगलागी नियन्त्रणमा लिइएको र क्षतिको पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यसैबीच, रौतहट जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरमा भएको आगलागीमा परी ५ जनाको घर जल्दा करिब १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको भएको छ ।

दिउँसो करिब २ बजेतिर लागेको आगोले रामदेव मुखियाको फुसको २ वटा घर जल्दा घरमा रहेका सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै, शिवजी मुखिया विन र आशनारायण मुखिया विनको घर जल्दा घरमा भएका धनमाल र खाद्यान्न नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया