अत्यधिक गर्मीले विद्यालयका पढाइ प्रभावित

Oplus_0

मधेश ब्युरो । मधेसको तापक्रम चालिस डिग्रीभन्दा बढी हुन थालेपछि यहाँको जनजीवन प्रभावित हुन थालेको छ । गर्मीका कारण सबैभन्दा बढी बालबालिकालाई प्रभाव पारेको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेस प्रदेशका केही पालिकाले विद्यालयमा पठन पाठनकोे समय परिवर्तन गरेका छन्, भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् ।

यसैगरी पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा सञ्चालन गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा सञ्चालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ ।

बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावाले बस्नै नसक्ने बनाउन थालेकाले सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन गर्न सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो ।
मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा सञ्चालन हुने गर्दछ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया