२ हजार जनालाई निःशुल्क तालिम

काठमाडौँ । २ हजार ८१ जनालाई निःशुल्क सीपमूलक तालिम दिने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले आज (बुधबार)देखि ‘सीप मेला २०८१’ आयोजना गर्दै छ । विश्व श्रमिक दिवसको अवसरमा पारेर महानगरले सीपमूलक तालिमकको आयोजना गर्न लागेको हो । महानगरले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम गराउँदै छ ।

सीपयुक्त जनशक्तिको माग र आपूर्तिका बीचमा ठुलो खाडल रहेको र रोजगारदातालाई सीपयुक्त जनशक्ति उपलब्ध गराउने तथा युवालाई योग्यताअनुसारको रोजगार प्राप्त हुने वातावरण निर्माणका लागि तालिमको आयोजना गरिएको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।
अनलाइन फारम भरेर छनोट भएकाहरूलाई तालिममा सहभागी गराइने भए पनि तालिममा सहभागी हुन चाहनेहरूका लागि महानगरले तालिम स्थलमै आएर फारम भर्न सक्ने व्यवस्थासमेत मिलाएको छ ।

तालिमका लागि महानगरले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, ग्लोकल, सिप्रदी ट्रेडिङ र सिसिटिभी स्टेसन एन्ड स्मार्ट होमसँग सहकार्य गरेको छ । सीप विकासका लागि महानगरपालिकाले सञ्चालन गर्दै आएको अन्य तालिमबाट उत्पादन भएका जनशक्तिहरूलाई पनि सीप मेलामार्फत् रोजगारदाताहरूसँग सम्पर्क गराउने महानगरको अर्को लक्ष्य छ ।

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ । २९ प्रकारका पेसागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना महानगरको छ । सुरुआती चरणमा अटो मोबाइल्स, निर्माण क्षेत्र, हस्पिटालिटी एन्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एन्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहितसम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेलासमेत आयोजना गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया