बाबुभन्दा छोरासँग भारी मतान्तरले हारे खड्का

इलाम–२ मा सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । यसअघि यस क्षेत्रबाट लगातार विजयी हुँदै आएका उनका बाबु सुवासचन्द्र नेम्बाङको बिँडो थाम्दै उनी निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको समर्थन पाएका उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरे ।

नेम्बाङले २७ हजार ७७२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । यसअघि २०७९ मंसिर ४ गते भएको निर्वाचनमा पनि खड्का सुहाङका बाबु सुवासचन्द्र नेम्बाङसँग ११४ मतको झिनो मतान्तरले पराजित भएका थिए ।

पहिचान पक्षधरका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११ हजार ४५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । लिम्बूले जमानतसमेत जोगाउन सकेनन् । मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले ८१६ मत पाउँदा बाँकी सबै उम्मेदवारले ५०० मत कटाएनन् ।

१ लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र ७ स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

१६ उम्मेदवारको जमानत जफत

अन्तिम मतपरिणामअनुसार (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा खसेको सदर मत ६८ हजार ४७२ को १० प्रतिशतभन्दा कम मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जफत हुनेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको पनि जमानत जफत भएको हो ।

खड्काको पराजय : बाबुसँग झिनो, छोरासँग भारी मतान्तर

इलाम–२ पहिले बाबुसँग झिनो मतान्तरले पराजित भएका उम्मेदवार यस वर्ष छोरासँग भारी मतान्तरले पराजित भएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उम्मेदवार रहेका खड्का एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए । यस पटकको उपनिर्वाचनमा खड्का सुवासचन्द्रकै कान्छा छोरा सुहाङसँग समेत पराजित भए ।
अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा खड्का सुवासचन्द्रसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए । सुवासचन्द्रले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । यस पटकको उपनिर्वाचनमा सुहाङसँग ५ हजार ८३० मतको फराकिलो मतान्तरमा पराजित भए ।

सुवासचन्द्रको २०८० भदौ २६ गते निधन भएपछि उपनिर्वाचन भएको थियो । बाबुको निधनपछि एमालेले उनका छोरा सुहाङलाई नै उम्मेदवार बनाएको थियो । कार्यकाल नसकिँदै निधन भएका सुवासचन्द्रको उत्तराधिकारीका रूपमा छोरा सुहाङ निर्वाचित भएका हुन् । सुहाङले आफ्ना बाबुले थालेका पुराना तथा अधुरा कामलाई पूरा गर्ने बताउँदै आएका छन् ।

इलाम–२ मा ६ वटा स्थानीय तहका ४२ वटा वडा पर्छन् । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगपालिकाका सबै र इलाम नगरपालिकाका (१० बाहेक) सबै वडा यस क्षेत्रमा पर्छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा माङसेबुङ गाउँपालिका अध्यक्ष, फाकफोकथुम गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, माई नगरपालिका प्रमुख र उपप्रमुख र देउमाई नगरपालिका प्रमुख र उपप्रमुख एमालेले जितेको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष र इलाम नगरपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो ।

‘अब इलामको विकास सुहाङले गर्छन्’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम सबै हिसाबले अघि बढ्न थालेको बताएका छन् । इलाम–२ मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएपछि मंगलबार इलाम चोकबजारमा आयोजित विजयोत्सवलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘तपाईंहरूले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, त्यसका लागि तपाईंहरूलाई धन्यवाद छ,’ उनले भने, ‘अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।’

ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा एमालेसँग मात्र भएको दाबी गरे । उनले भने, ‘मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा एमालेसँग मात्र छ, अहिलेसम्मका सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।’ अध्यक्ष ओलीले सुवासचन्द्र नेम्बाङले थालेको विकासको अभियानलाई पूर्णता दिन सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे ।

उनले सुवासचन्द्र जनताका लागि लड्ने योद्धा भएको स्मरण गर्दै सुहाङ पनि योद्धा नै भएको दाबी गरे । ‘यहाँ सुहाङलाई पार्टीले टिकट दिएर पठाउँदा राजाको छोरा राजा भनियो, सुवास नेम्बाङलाई राजा बनाएर राजाको छोरा राजा बन्न लागेको भनियो,’ उनले भने, ‘उहाँ (सुवास) त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ ।’

प्रतिक्रिया